स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण भेटियो


photo:-skynews

जीएनएन,बार्सिलोना। स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण भेटिएको छ। क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भईरहेको छ। बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको सान्पाओ अस्पतालमा उपाचार भईरहेको छ। अन्य ३ जना भने हस्पितालेदक्षेत्रका हुन्। उनिहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन्। संक्रमित ब्यक्तिहरुको बिबरण भने गोप्प राखिएको छ। स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष रहेका छन्।तीन जनाको अबस्थाको सामान्य रहेपनि एक जनाको आईसीयूमा राखेर उपचार भईरहेको छ। 

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूताबासलाई प्राप्त भएको बताईन्। राजदूत शेर्पाले भनिन्,” बार्सिलोनामा बस्दै आएका केहि नेपालीहरुलाई (कोभिड–१९) संक्रमण भेटिएको सूचना आएको छ। तर संक्रमितहरुको सम्पूर्ण डिटेल दूताबासबाट खोज्ने प्रयास भईरहेको छ।”

उनले संक्रमित ब्यक्तिहरु र परिबारलाई दूताबासको सम्पर्कमा आउँन अनुरोध समेत गरिन्। उपाचार लगायत भईपरी आउने प्रक्रियामा दूताबासबाट पूर्ण सहयोग रहने राजदूत शेर्पाले बताईन्। तर संक्रमित र उनका परिवारले घटनालाई बाहिर नल्याउन नेपाली समुदायका अगुवाहरुलाई अनुरोध गरेका छन्। स्रोतका अनुसार पहिलो संक्रमितको एक हप्ता पहिले नै पोजेटिभ देखिएको थियो। अन्य तीन जनाको भने हालै रिपोर्ट आएको हो। तर यो घटना अझै पनि नेपाली समुदायमा गुपचुप नै छ। 

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्माले परिवारहरुको अनुरोधमा नै घटना बाहिर सार्बंजनिक नभएको बताए। “भनौ भने पनि किन भनिस् भन्ने वा नभनौ भने पनि किन बाहिर आएन भन्ने अबस्था सृजना भएको छ। तर संक्रमित ब्यक्तिहरु जो-जोसँग सम्पर्क वा नजिक भएकाथिए ति साथीभाईहरुलाई खबर गरेर अस्पतालमा चेकजाँच गर्न सुझाव दिएका छौ।” उनले भने। 

एनआरएनए आईसीसी सदस्य चिन्तामणी सापकोटाले चार जना संक्रमितहरु क्याटालोनिया क्षेत्रमा नै रहेकाले नेपाली समुदायलाई सजग रहन अनुरोध गरे। आईसीयूमा उपचार गराईरहेका एक नेपालीको प्रत्येक २४ घण्टामा अस्पतालबाट परिवारलाई सूचना प्राप्त भईरहेको उनले जानकारी दिए।उनको स्वास्थ्यमा समेत क्रमिक सुधार हुँदै गएको छ। अन्य संक्रमितहरु भने परिवारको सम्पर्कमा नै रहेका छन्। 

स्रोतका अनुसार संक्रमितहरु तीन छुट्टाछुट्टै परिवारका हुन्। उनिहरुको रिपोर्ट पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यहरु पनि चेकजाच गर्न अस्पताल पुगेका थिए। तर हालसम्म कसैलाईपनि संक्रमण देखिएको छैन। 

एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ (देउकाजी) ले घटनाबारेको सम्पूर्ण जानकारी छिट्टै ल्याउने बताएका छन्।”संक्रमित हुँदैमा आत्तिनु पर्ने अबस्था छैन।राजदूताबास,एनआरएनए र संघसंस्थाहरुले सहकार्य गरेर नै अहिलेको परिस्थितिलाई सामाना गर्ने छौ.” गुरुङले भने। 

स्पेनमा झण्डै १० हजार नेपालीहरु रहेका छन्। क्याटालोनिया क्षेत्रमा ३ देखि ४ हजारसम्म नेपालीहरु बसोबास रहेको ठानिएको छ। आँफूलाई लागेको संक्रमण गोप्य राख्न खोजेको पछिल्लो अबस्थालाई हेर्दा स्पेनमा थप नेपालीहरुपनि संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ।