‘सेन्टी भाइरस’ बार्सिलोनामा:-चलचित्र हेरेर क्रिकेट रंगशालालाई सहयोग  


बार्सिलोना। हाँस्य कलाकार जोडी तथा सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरेको चलचित्र  ‘सेन्टी भाइरस’को चर्चा देशमा मात्र हैन प्रबासमा पनि चुलिएको छ। मुलुकभर सफल प्रदर्शन भईरहेका बेला प्रबासमा बिभिन्न मुलुकहरुमा पनि चलचित्र प्रदर्शन भईरहेको छ। स्पेनको बार्सिलोनामा रहेका नेपालीहरुले पनि भोलि सोमबार सिनेमा जिरोना हलमा चलचित्रको विशेष शो हेर्ने अवसर पाउने भएका छन्। चितवन समाज स्पेनले चलचित्र प्रदर्शनको तयारी गरेको हो।

 समाज अध्यक्ष राजुशमशेर थापाले स्पेनबासी नेपाली समुदायलाई चलचित्र हेर्न अनुरोध गरेका छन्। उनले भने,”एक त नेपाली चलचित्रको प्रवद्वन गर्न पाउनु आँफैमा महत्वपूर्ण छ। अर्कोतर्फ प्रदर्शनवाट वचत रकम  ‘अन्तरराष्ट्रिय गौतम वुद्ध क्रिकेट रंगशाला’ निर्माणका लागि सहयोग पुर्याउने जमर्को गरेको हुँदा पनि उपस्थितिको लागि अनुरोध गरेका हौ।”

यसअघि रंगशाला निर्माण सहयोगका लागि आर्थिक सहयोग गर्ने समाजको निर्णय बमोजिम नै चलचित्र प्रदर्शनको तयारी थालिएको समाजका सचिव बिनय अधिकारीद्वारा जारी पत्रमा उल्लेख छ। 

चितवनको रामपुरमा ‘अन्तरराष्ट्रिय गौतम वुद्ध क्रिकेट रंगशाला’ बनाउँदै गर्दा हाँस्य कलाकार जोडी तथा सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र ‘सेन्टी भाइरस’ पनि बनाउने निर्णय गरेका थिए ।तर यो उनिहरुको आफ्नै लगानीको  वा धुर्मुस–सुन्तली फाउन्डेशनले निर्माण गरेको चलचित्र भने होइन । यसका निर्माता डिन्डु लामा रहेका छन्। तर नाफाको ५० प्रतिशत रकम रंगशालालाई जाने कलाकार जोडीले बताउदै आएका छन्। रामबाबु गुरुङ निर्देशित यो चलचित्रले अहिले मुलुकभर राम्रो व्यापार गरेको छ। 

थप बिबरण:-

  • चलचित्र प्रदर्शन मिति:- मार्च २, २०२० सोमबार 
  • स्थान:– सिनेमा जिरोना हल बार्सिलोना 
  • समय;– साँझ ५ बजे 
  • टिकट शुल्क:-१० युरो
  • आयोजक:-चितवन समाज स्पेन