एनसेल टावरमा हान्नु राष्ट्रप्रेम नभई व्यक्ति प्रेम भएको अध्यक्ष प्रचण्डको आरोप


पोखरा – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल टावरमा हान्नु राष्ट्र प्रेम नभई व्यक्ति प्रेम भएको आरोप लगाए । प्रेस संगठन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष प्रचण्डले एनसेल टावर माथि हान्ने र आगजनी जस्ता घटना घटाउनु राष्ट्रप्रेमबाट ओत्प्रोत भयर कुनै पुष्टि नभएको दाबी गर्दै उक्त घटना व्यक्ति प्रेम भएको आरोप लगाएका हुन्।
उनले भने “एनसेलको टावर माथि हान्ने घटना यो कुनै राष्ट्रप्रेमबाट ओत्प्रोत भयर टावर भत्काएको छ भन्ने कुरा पुष्टि हुदैन, त्यो होइन पनि, रोकेर राखेका स्काभेटर जलायर तीनमा बिष्फोट गराएर चाहि राष्ट्र प्रेम झल्काइएको कहि कतै देखिदैन, आफ्नै प्रेम होला । ” अध्यक्ष प्रचण्डले कुनै समुहले एनसेलका टावर माथि हान्ने र आगजनी गर्नु पैसा उठाउने उद्धेश्यले त्यस्ता कृयाकलाप गरेको समेत आरोप लगाए । उनले भने “एनसेलले राज्यलाई धेरै पैसा नदिएको भनेर हानेको जस्तो कहि कतै देखिदैन, एनसेल टावर हान्नेहरु आफै पैसा उठाउनको लागि कहिले स्काभेटरमा कहिले ग्यारेजमा राखेको गाडी जलाउने जस्ता कार्य गर्दै आएकाछन्। ” एनसेलको चर्चा जनस्तर देखि पार्लामेन्ट हुदै अदालतबाटै मुद्धा टुगिएकोले यस बिषयमा थप केही भन्न आवश्यक नदेखिएको अध्यक्ष प्रचण्डको भनाई थियो । अदालतले जे भन्यो त्यो लागु हुनु पर्छ भन्ने आफुहरुको मान्यता रहेको उनले बताए ।
सिमा बिबादमा कुनै समस्या नभएको दाबी गर्र्दै अध्यक्ष प्रचण्डले सिंगो राष्ट्र एक ठाउँमा भएको बताउदै सरकारले सर्वदलिय सर्वपक्षिय बैठक वोलायर राष्ट्रलाई एक ठाउँमा उभ्याएको जनाए । सरकारको तर्फबाट एउटा डिप्लोमेटिक नोट भारत समक्ष पठाइएको बताउदै उनले भारतसंग राजनैतिक तथा कुटनीतिक छलफलबाट नेपालले यसको हल चाहेको छिटो जनाए । उनले भने “ हामी हाम्रो भूमि फिर्ता ल्याउने बिषयमा, सेना फिर्ता ल्याउने बिषययमा भनेर भारतलाई पठाईएको डिप्लोमेटिक नोट नेपालकै इतिहासमा पहिलो पटक हो, भारतबाट पनि हामी संवाद गर्न तयार छौं भनेर खबर आइसक्केको छ, यसमा अब समस्या हुदैन् । ”

काठमाण्डौं पुगेसंगै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष अध्यक्ष प्रचण्डले पोखराको ऐतिहासिक हिमागृह र रत्न मन्दिर किन नखोलेको भनेर कुरा गर्ने भएको बताए । उनले भने “प्रधानमन्त्री र पर्यटन मन्त्रीसंग पहिला धेरै पटक कुराकानी भएको आधारमा पोखरामा रहेको रत्न मन्दिर र हिमागृह खुल्ला गर्ने बिषयमा पहिला एक प्रकारको सहमति भएको थियो तर किन रोकियो त्यसको बारेमा बुझेर आज जाने विक्तिकै किन नखोलिएको भनेर प्रधानमन्त्रीसंग कुरा गर्ने वाला छु । ”
कार्यदलको प्रतिवेदनको आधारमा एमसीसीको फाइनल निर्णय लिने भएको अध्यक्ष प्रचण्डले बताए । एमसीसी कुनै कोहिसंग साटफेर नगरएिको समेत उनले बताए । उनले भने “हामी राष्ट्रिय हितलाई प्रथामिकता दिन्छौं, यसलाई गम्भिर रुपले लिन्छौं भन्ने कुरा अध्ययन कार्यदल बनाएकै बाट पुष्टि हुन्छ, सत्य तथ्यको गहिरो अध्ययन गरेर, अनुसन्धान गरेर अगाडी बढ्न चाहान्छौं । ” एमसीसीको बिषयलाई जनता र नेताहरुलाई राम्रोसंग बुझाउन पनि १० दिनको म्याद दिएर अध्ययन टोली गठन गरिएको उनले बताए ।
पश्चिमा शक्तिहरुले मित्र राष्ट्र चिनबाट फैलिएको कोरोना भाइरस अनावश्यक हल्ला फैलाउने काम गरेको अध्यक्ष प्रभण्डको आरोप छ । चिनले जति सक्छो छिटो कोरोना भाइरसलाई नियन्त्रण गर्ने तर्फ केन्द्रित भएको बताउदै अध्यक्ष प्रचण्डले एक थरी मान्छेहरुले चिनलाई नरुचाउने मन नपराउनेहरुले अनावश्यक राजनीतिक गरेर त्रसित बनाउने गरेको जनाए । प्रेस संगठन कास्कीका संयोजक माधव बरालको अध्यक्षतामाा कार्यक्रम सम्पन्न भएको सहसंयोजक सन्देश श्रेष्ठले जनाए ।