वायो साइन्स एण्ड वायो टेक्नोलोजीबारे छलफल गर्न पोखरामा शुरु


पोखरा – तेश्रो अन्र्तराष्ट्रिय वायो साइन्स एण्ड वायो टेक्नोलोजी सम्मेलन बुधबारदेखि पोखरामा शुरु भएको छ । रिसर्च ईन्ष्टिच्यूट फर वायो साइन्स एण्ड वायो टेक्नोलोजी (रिब)को आयोजनामा वायो साइन्स एण्ड वायो टेक्नोलोजी सम्बन्धी छलफल गर्न पोखरामा ४ दिने सम्मेलन शुरु भएको हो । पोखराको एक होटलमा मंगलबारदेखि शुरु भएको सम्मेलन शुक्रबारसम्म जारी रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा नेपालसहित १५ देशका वायो साइन्स, वायो टेक्नोलोजी, वायो केमिकल र वायो मेडिकलसँग सम्बन्धित प्राध्यापक, डाक्टर, अन्वेषक, अनुसन्धानकर्ता, विद्यार्थीलगायत सहभागि छन् । जहाँ विज्ञ तथा अन्वेषकहरुले जैविक विज्ञान र प्रविधिको क्षेत्रमा देश विदेशमा हालसम्म गरेका प्रयासहरु, प्राप्त उपलब्धी र भविष्यमा गरिने कामका बारेमा पेपर प्रेजेन्टेसन गर्नेछन् । उनीहरुले हरित तथा दीगो रसायनशास्त्र, खाद्य प्रविधि तथा वनस्पति शुक्ष्म विज्ञान, मेडिकल र फर्मास्यूटिकल्स साइन्स, कृषि तथा जैविक प्रविधि सम्बन्धी २७ वटा पेपर प्रेजेन्टेसन र २८ वटा पोस्टर प्रेजेन्टेसन गर्ने रिसर्चर, वैज्ञानिक तथा कार्यक्रम संयोजक प्रज्वल राजभण्डारीले जानकारी दिए ।

सम्मेलनको अवसरमा वायो टेक्नोलोजीसँग सम्बन्धित आफ्ना प्रोडक्ट प्रदर्शनी तथा बिक्रीका लागि राखिएको कार्यक्रमका स्थानिय ब्यबस्थापन समिति संयोजक रमेश बरालले जानकारी दिए ।

सम्मेलनको उद्घाटन गर्दै नास्टका भाइस चान्सलर सुनिलबाबु श्रेष्ठले नास्टले पछिल्लो समय वायो इनर्जी, वायो साइन्स, वायो टेक्नोलोजी, वायो केमिष्ट्रीदेखि वायो मेडिकल, हाइड्रोपावरलगायतमा केन्द्रीत गरिरहेको बताए । सरकारले भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्नदेखि कृषि क्रान्ति सफल पार्नसम्मपनि वायो साइन्स एण्ड टेक्नोलोजीमा सफलता हासिल गर्नुपर्ने भएकाले त्यसलाई सघाउन नास्ट लागिरहेको उनको भनाई छ । उनले रिसर्चबाटै नश्ल सुधारदेखि नया नया कल्चर विकास गर्ने कामपनि हुने भएकाले यसमा कुनै व्यक्ति, संस्था भन्दापनि यससँग सम्बन्धित सबै लाग्नुपर्नेमा जोड दिए ।

रिसर्चर तथा प्राध्यापक अर्जुन कार्कीले रिसर्चले क्रियटिभिटी बनाउनुका साथै युवाहरुको क्षमता प्रस्फुटनदेखि स्वरोजगार उत्पादन गर्नसम्म भूमिका खेल्ने बताए ।

वायो साइन्स, वायो टेक्नोलोजी, वायो केमिष्ट्री र वायो मेडिकलसँग सम्बन्धित क्षेत्रको अनुसन्धान तथा अन्वेषणमा पछिल्लो समय सरकार सहयोगीको रुपमा रहँदै आएको रिबका सदस्य डा.पि.आर.सन गौतमले बताए । उनका अनुसार पछिल्लो समयमा नेपाल क्यान्सर अस्पतालको सहयोगमा रिबले रगतबाट आन्द्राको क्यान्सर छ कि छैन भन्ने पत्ता लगाउने, अम्बाको पातमा भएको केमिकलको प्रयोग गरेर तरकारी, फलफुललाई हानी नोक्सानी नपुग्नेगरी प्राकृतिक रुपमै नकुहिने बनाउने स्प्रे उत्पादन, सुन्तलाको बोक्रामा हुने तेल निकालेर कस्मेटिक सामान उत्पादन गर्नेलगायतका उपलब्धीहरुको प्रयास भइरहेको उनले बताए ।

सम्मेलनमा काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायतका कलेजका वायो साइन्स एण्ड वायो टेक्नोलोजीका विद्यार्थीहरुपनि सहभागि छन् । उनीहरुले देश विदेशमा रहेका विज्ञहरुको पेपर र पम्प्लेट प्रेजेन्टेसनबाट धेरै कुरा सिक्ने अवसर पाउने भएकाले यो उपलब्धीमूलक हुने बताइएको छ ।

नेपालमा वायोसाइन्स तथा वायो टेक्नोलोजीको अध्ययन÷अध्यापन सन २००३ बाट काठमाडौं विश्वविद्यालयले शुरु गरेको हो । २०११ देखि भने यसले रिसर्चसमेत शुरु गरेको नास्टका भाइस चान्सलर सुनिलबाबु श्रेष्ठले जानकारी दिए ।