काठमाडौंमा एमाओवादीको समानान्तर कमिटी, हिमाल शर्मा उपाध्यक्ष भएको महेन्द्र श्रेष्ठको दाबी


काठमाडौ, भाद्र ४ – एमाओवादीमा बाबुराम भट्टराई विचार समूहका नेता कार्यकर्ताले काठमाडौंमा समानान्तर जिल्ला कमिटी बनाएका छन् । आज राजधानीको बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा नयाँ कमिटीबारे जानकारी दिइएको हो ।

भट्टराई पक्षले महेन्द्र श्रेष्ठको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । श्रेष्ठले आफूलाई अध्यक्ष र हिमाल शर्मालाई उपाध्यक्ष बनाएको बताए । बाँकी पदाधिकारी पछि छनोट गरिने श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा बोल्दै नवगठिन समिति अध्यक्ष श्रेष्ठले विराटनगर सम्मेलनमा उठेका वैचारिक कुरा छलफलमा लैजाने बताए ।

तपाईले भट्टराई पक्षको समानान्तर कमिटी घोषणा गर्नुभएको हो ? प्रश्नमा श्रेष्ठले भने- ‘होइन, यो संस्थापन पक्षकै हो, हामीले हिमालजीलाई उपाध्यक्ष बनाएका छौं, उहाँ संस्थापन पक्षकै नेता हो ।’

श्रेष्ठलाई अध्यक्ष घोषणा गर्ने कार्यक्रममा सहभागी पूर्वकेन्द्रीय सदस्य सविना अर्यालले विद्यार्थीका अध्यक्ष जिल्ला कमिटीको अध्यक्ष बन्न नमिल्ने बताइन् । एमाओवादीले विद्यार्थी संगठन क्रान्तिकारीका अध्यक्ष समेत रहेका शर्मालाई असार १३ गतेको बैठकले काठमाडौं जिल्ला अध्यक्ष बनाएको थियो ।

समानान्तर कमिटीका अध्यक्ष श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ५ मा एमाओवादीका तर्फबाट गत निर्वाचनका उम्मेदवार पनि हुन् ।

भट्टराई पक्षीय नेताहरुले धनुषा, कास्कीलगायत जिल्लामा समेत समानान्तर जिल्ला कमिटी गठन गरेका थिए ।

यता, संस्थापन पक्षका अध्यक्ष हिमाल शर्माले भने नेता बाबुराम पक्षले समानान्तर कमिटी घोषणा गर्नु हास्यास्पद, गैरराजनीतिक र अराजतकताको संज्ञा दिएका छन् । समानान्तर कमिटी घोषणा गरेकामा आपत्ति जनाउँदै उनले भट्टराई पक्षले पार्टी फुटाएर पदको टेण्डर खुलाउने काम गरेको आरोप समेत लगाएका छन् ।
यस्तो छ शर्माको प्रेस विज्ञप्ति

himal-press-release-463x600