भरतपोखरीमा श्रीमद्भगवद् गीता ज्ञान महायज्ञ हुने


पोखरा, ७ माघः ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय, बाघमारा उपशाखाको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३, बाघमारा कालिकास्थानमा श्रीमद्भागवद् गीता ज्ञान महायज्ञ हुने भएको छ ।

यही माघ ११ गतेदेखि १५ गतेसम्म हुने महायज्ञमा राजयोगिनी ब्रम्हकुमारी अप्सराले विहान ११.०० बजेदेखि २.०० बजेसम्म व्यवहारिक एवम् वैज्ञानिक प्रवचन गर्नुहुने कार्यक्रम छ ।

महायज्ञ अन्तर्गत प्रवचनका कार्यक्रम सम्पन्न भए पछि माघ १६ गतेदेखि २१ गतेसम्म राजयोग र मेडिटेशनका कक्षा सञ्चालन हुने ब्रम्हकुमारी रचनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो अवसरमा विहान ८.०० बजेदेखि ९.०० बजेसम्म, दिउँसो १२.०० बजेदेखि १.०० बजेसम्म र बेलुका ३.०० बजेदेखि ४.०० बजेसम्म तीन चरणमा राजयोग र मेटिडेशनका कक्षा सञ्चालन हुनेछन् ।

उहाँका अनुसार बाघमारा उपशाखा अन्तर्गत बरेलीचोक र कालिकास्थान गरी दुई ठाउँमा दैनिक करिब ५० जना सर्वसाधारण राजयोग र मेडिटेशनका कक्षामा सहभागी बन्दै आउनुभएको छ ।