कुल आचार्यद्वारा एनआरएनए बिशेष अधिबेशन बोलाउन माग


लण्डन।गैर आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष कुल आचार्यले जति सक्दो चाडो संघको विशेष अधिवेशन बोलाउन माग गरेका छन्।मंगलबार अपरान्ह लन्डनमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दै आचार्यले गत अक्टोबरमा काठमाडौँमा सम्पन्न संघको नवौं विश्व सम्मेलनमा आर्थिक र संगठनिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण भएको बताए ।

“यसले हाम्रो संस्थाको गरिमा माथि नकारात्मक असर पर्नुका साथै विभिन्न अनियमितताका समाचारहरु बाहिर आइरहेका छन्। सन् २०१८ मा आयोजित विश्व ज्ञान सम्मेलनमा काटिएको टिकट तथा होटेल बुकिङ्गको हिसाब सार्वजनिक गरिएको छैन। त्यस्तै म उपाध्यक्ष हुँदा संस्थामा २, २ जना  सीइओ राख्दा संस्थाले धान्न सक्दैन भनेर मैले उठाएको विषय अहिले पनि रेकर्डमै छन् । त्यस्तै सभा, सम्मेलनहरुको आयोजनामा पनि पारदर्शिता कायम गरिएको छैन,” आचार्यले भने।

उनि गत अक्टोबरमा सम्पन्न एनआरएनए चुनावमा अध्यक्ष पदमा कुमार पन्तसँग पराजित भएका थिए। 

आचार्यले हालै आइसीसीको १० घण्टा लामो बैठक बसेको भनी प्रचार गरियो। तर सो बैठकले गरेको मनोनयन एकपक्षीय र पूर्वाग्रहपूर्ण भएको भनि धेरै साथीहरुको गुनासो आएको पनि बताए। क्षेत्रीय संयोजक (आरसी) हरुले गरेको सिफारिसलाई बेवास्ता गरी आफ्ना नजिकका मानिसहरुलाई मनोनयन गर्ने काम संस्थाको हितमा छैन। यस्तो कामले संस्थालाई अरु कम्जोर बनाउने निश्चित छ,” उनले भने।

लाखौं एनआरएनहरुको श्रम र पसिनाले यो स्थानमा आइपुगेको यो संस्थाको साख जोगाउन हामी सबैले खबरदारी गर्नु आवश्यक छ। यसबारे म वर्तमान नेतृत्वलाई फेरी पनि सजग बनाउन चाहन्छु,” उनले भने।

 “अहिले संसार भरि बसोबास गरिरहनु भएका गैर आवासीय नेपालीहरुको पहिलो चासो भनेको नेपालमा रहेको आफ्नो सम्पत्ति कसरी सुरक्षित रहन्छ र सर्वसुलभ ढंगले गैर आवासीय नेपाली नागरिकता कसरी पाउन सकिन्छ  भन्ने नै हो। तर संसद अधिवेशन शुरु भै सकेको यस्तो महत्वपूर्ण समयमा एनआरएनएको नेतृत्व मौन रहनु खेदजनक छ। 

उनले काठमाडौमा सम्पन्न एनआरएनए चुनावमा अनियमितता र धाधली भएको आरोप लगाउदै आएका छन्।