असफलद्वारा आमाको स्मृतिमा अक्षयकोष घोषणा


पोखरा । साहित्यकार तथा पत्रकार असफल गौतमले गौरीमाया स्मृति कोषको घोषणा गरेका छन् । गौरीमायाको ४५ औं दिनको पुुण्यतिथिमा असफलले कोष स्थापना गरेका हुन् ।

उक्त कोषबाट हाललाई आफूले छ कक्षादेखि १० सम्म अध्ययन गरेको जनप्रिय माध्यमिक विद्यालय स्याङ्जा भाटखोलामा उत्कृष्ट अंक ल्याएर १०+२ तह नियमित उत्तीर्ण हुने जेहेन्दार विद्यार्थीलाई वार्षिक पाँच हजार एक सय नगद राशि, सम्मानपत्र र दोसल्लासहित सम्मान अर्पण गर्ने जनाइएको छ ।

सो अवसरमा असफलले आमाको स्मृतिमा मुक्तक मञ्च नेपाल टीकापुरको अक्षयकोषलाई पाँच हजार एक सय ५१, जनमत वाङ्मय प्रतिष्ठान बनेपाको अक्षयकोषलाई एक हजार एक सय ११ सहयोग घोषणा गरेका छन् । यस्तै, सोमवार पोखराको बगर, गाइघाट र विन्ध्यवासिनी क्षेत्रका २१ जना असहायलाई एक दिन बराबरको खाद्यान्न र नगदसमेत प्रदान गरे ।

पोखरामा आयोजित कोष घोषणा सभामा असफलले छ महिनाकै उमेरमै मातृस्नेहबाट बञ्चित दूधे बालकलाई गौरीमायाले हुर्काएर आजको अवस्थामा ल्याउन गरेको योगदानलाई चिरस्थायी बनाउन कोष घोषणा गरेको बताए ।

साथै उनले, आमाले आफ्ना कोखबाट जन्मेका आठ छोरीको सुन्दर भविष्य निर्माणसँगै आफूलाई ल्याएर आजको अवस्थामा ल्याउनका उहाँले बगाएको आँसु, रगत र पसिनाको भारा तिर्न नसकेपछि मनको शान्तिका लागि कोष स्थापना गर्ने सोँच आएको जानकारी दिए । जनप्रिय मावि स्याङ्जाका छात्रछात्रालाई पुरस्कृत गर्ने घोषणासँगै उक्त विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन सुनामले धन्यवाद ज्ञापन गरे ।

विद्यालयका शिक्षक पदम रानाभाटले भू.पू. विद्यार्थीले स्थापना गरेको शैक्षिक पुरस्कारले विद्यार्थीलाइ थप प्रोत्साहन मिल्ने बताए ।

पोखराको साहित्य र पत्रकारितामा क्रियाशील असफल गौतमले यस अघि आफ्ना बाबा आमा र दाजुको स्मृतिमा तीन अक्षयकोष स्थापना गरिसकेका छन् ।

जसमा स्याङ्जाको शारदा रमणीय डाँडा स्कुल र जनमूखी स्कुलमा शैक्षिक अक्षयकोष हस्तान्तरण गरेका छन् । दाजुको स्मृतिमा स्थापित कोषबाट वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई हरेक वर्ष सम्मान गर्दै आएका छन् ।

समसामयिक विषयमा कलम चलाउने असफल लेखक, अध्येता र साहित्यकारका रुपमा परिचित छन् । कानूनमा स्नातक, भाषासाहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर उनी दशकदेखि आदर्श समाज दैनिकसँग आवद्ध छन् ।