एनआरएनए स्पेनमा सदस्यता न्यून, एमआईएस बाहेकका सदस्यहरुले मतदान गर्न पाउलान् ?



बार्सिलोना। एनआरएनए स्पेनको एमआईएस प्रणाली मार्फत दर्ता भएका सदस्य संख्या हालसम्म ७० पुगेको छ। १० हजार बढी नेपालीहरु रहेको मुलुकमा यो अति नै न्यून संख्या हो। त्यसो त संघका ३ वटा क्षेत्रीय समितिहरु पनि छन्। सयौको संख्यामा सदस्य बन्दै क्षेत्रीय अधिबेशनहरु समेत सम्पन्न भईसकेका छन्। तर ति सदस्यताहरु एमआईएस प्रणाली मार्फत दर्ता छैनन्। यद्दपी सेक्टेबर १५ भित्र एमआईएस मार्फत नै दर्ता गर्नका लागि केन्द्रले अनुरोध गरिरहेको छ। अक्टोबरमा हुने संघको अन्तर्राष्ट्रिय महाधिबेशनमा प्रतिनिधिहरुको रुपमा भाग लिन पनि अनिबार्य रुपमा सोही प्रणालीमार्फत दर्ता हुनुपर्ने केन्द्रले बताउदै आएको छ।

एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाले आँफूहरुले पटक-पटक दर्ताको लागि अनुरोध गरेपनि हालसम्म ज्यादै न्यून संख्यामा दर्ता भएको बताए।उनले भने,”हामीले बिभिन्न माध्यमबाट अनुरोध गरिरहेका छौ। घरमा नै बसेर पनि दर्ता हुन सकिन्छ। म पुन: एमआईएस प्रणाली मार्फत नै सदस्यता लिन अनुरोध गर्दछु।”


एमआईएस सिष्टम राम्रो प्रचारप्रसार नहुनु र यसका लागि अग्रसरता कम देखिनुले पनि न्यून संख्यामा दर्ता भएको कतिपयको आरोप छ। त्यसो त संघको छैठौ अधिबेशन सेक्टेम्बर ७ तारिख तोकिएको छ भने सदस्यता बितरणको लागि अन्तिम म्याद अगष्ट २७ सम्मका लागि तोकिएको छ। 

यसै परिपेक्षमा एनआरएनए केन्द्रिय महासचिव डा. बद्री केसीलाई  एनआरएनए स्पेनको अधिबेशनमा अब कसले मतदान गर्न पाउँछन् त भनी प्रश्न गरेका छौ।  एमआईएस प्रणाली बाहेक प्याडबाट २ हजार बढी सदस्यता बितरण भए भने के स्पेनले २ जना आईसीसी  सदस्य पाउला ? एमआईएसमा दर्ता नभए अन्तर्राष्ट्रिय महाधिबेशनमा प्रतिनिधिहरुको रुपमा भाग लिन पाउलान् ? भन्ने जिज्ञासामा डा. केसीको जवाफ यस्तो छ।

डा. बद्री केसी,

 केन्द्रिय महासचिव गैर आबासीय नेपाली संघ (एनआरएनए)

हाम्रो मापदण्ड सबै देशहरुमा एमआईएस प्रणाली मार्फत सदस्यता बन्नुपर्छ भन्ने नै हो। कतिपय देशहरु जस्तै युके र अमेरिकाले आफ्नै सिष्टम प्रयोग गरेर सदस्यता बितरण गरेका छन्। तर ति मुलुकहरुका लागि पनि सेक्टेबर १५ भित्र अनिबार्य एमआईएस प्रणाली मार्फत नै सबै सदस्यहरुको डाटा सहित दर्ता गरिनुपर्दछ भन्ने आईसीसीको निर्देशन छ। उहाँहरु यसमा प्रतिबद्व हुनुहुन्छ। एनसीसी स्पेनले अहिलेसम्म एमआईएसमा समस्याहरु आय भनेर केन्द्रलाई सम्पर्क गरेको भने छैन। 

प्याडबाट २ हजार भन्दा बढी सदस्य बाँडिएपनि तोकिएको मितिभित्र अनलाईन सिष्टममा सदस्यहरु दर्ता भएनन् भने एमआईएस प्रणालीमा जति सदस्यहरु छन् त्यसैलाई नै मान्यता दिन्छौ। त्यही सदस्यता बराबरको आईसीसी सदस्य र अन्तर्राष्ट्रिय महाधिबेशन प्रतिनिधिहरु बन्नेछन्। जस्तो एमआईएस प्रणालीमा २ सय सदस्यहरु बनेका छन् भने हाम्रा लागि त्यही नै आधिकारिक हुनेछ। प्याडमा बढी सदस्य काटेर २ हजार बढी प्रतिनिधि बने भनेपनि आईसीसी सदस्य थपिने हुँदैन। यदी एनसीसीको चुनाव भईसकेको छ भनेपनि एमआईएस प्रणालीमा जान केन्द्रले १५ सेक्टेम्बरसम्मको समय तोकेको छ। तसर्थ एनसीसी स्पेनलाई पनि सो अबधिभित्र अनलाईनमार्फत नै सदस्यता लिन र क्षेत्रीय समितिहरुमा समेत सर्कुलर गर्न अनुरोध गर्दछु। तर कतिपय मुलुकहरुमा डकुमेन्टेसन वा पेयमेन्टका समस्याहरु आएका छन् भने हामीले सुल्झाउदै आएका छौ। यसमा सहयोग र सुझावका लागि केन्द्र सधैँ नै तयार नै छ। 

र अर्को रह्यो एनसीसीको अधिबेशन र चुनावको कुरा। चुनाव भईहाले पनि त्यहाँ अनलाईन भोटिङ् होईन होला। त्यो प्रत्यक्ष नै होला। एमआईएस प्रणाली मार्फत दर्ता भएका सदस्यहरुले मात्र निर्बाचनमा भाग लिन पाउछन् त ? भन्ने तपाईको प्रश्नमा यो एनसीसी लगायत सर्बपक्षिय छलफल र निणर्यमा भर पर्दछ। पहिले नै बितरण भएका सदस्यहरुलाई पनि निर्बाचनमा भाग लिन दिने र उनिहरुलाई पनि सेक्टेबर १५ भित्र एमआईएस सिष्टममा दर्ता गराउने वा अन्य कुनै आन्तरिक छलफल वा निर्णय सहमतिमा गरिनुपर्छ।