गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयलाई माइक्रोस्कोप हस्तान्तरण


पोखरा । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाण्डौंबाट प्राप्त जापानिज ओलम्पस कम्पनिका ७ वटा माइक्रोस्कोप स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई हस्तान्तरण गरिएको छ ।

महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले गण्डकी प्रदेश निर्देशक खिमबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् ।

पोखरामा निजि अस्पतालहरुमा ल्याबमा कार्यरत कर्मचारीहरुलाई मलेरिया (औलो) माईक्रोस्कोपिक तालिम समापनको अवसरमा उक्त माइक्रोस्कोप हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिमबहादुर खड्काले नेपाललाई सन् २०२५ सम्ममा औलो मुक्त राष्ट्र बनाउने नेपाल सरकारको लक्ष्य सफल पार्न मलेरिया माईक्रोस्कोपिक तालिम दिईएको वताए ।

सो अवसरमा सेभ द चिल्डे«नका माइक्रोवायोलोजिष्ट डा. विजय वज्राचार्य, मेलान गण्डकी प्रदेशका अध्यक्ष सुर्यप्रसाद पोख्रेल, दरबारथोक एड्भरटाईजिङका कृष्ण रानाभाट, सहभागीका तर्फबाट ऋषिराम सुबेदी, बिष्णुमाया राना लगाएतले वोलेका थिए ।

६ दिनसम्म संचालन भएको तालिममा कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, गोर्खामा रहेका निजि अस्पताल तथा क्लिनिकहरुमा कार्यरत प्रयोगशालामा कार्यरत ७५ जना कर्मचारीहरु सहभागिता रहेकोे थियो।

तालिम स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाण्डौको आयोजना, युएसएड अन्र्तगत जपाईको कर्पोरेशनको प्राविधिक तथा आर्थिक सहयोग र मेडिकल ल्याब्रोटोरी एशोसियशन अफ नेपाल (मेलान) को समन्वयमा संचालन भएको थियो ।

स्वास्थ्य कार्यलय कास्कीका प्रमुख जनस्वास्थ्य प्रशासक राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका मेडिकल ल्याव्रोटरी अफिसर तथा मेलानका केन्द्रिय सचिवालय सदस्य रविन्द्र शर्मा वस्ताकोटीले गरेका थिए ।