लायन्स क्लब पोखरा सेन्ट्रलको सहयोग मानव सेवा आश्रमलाई


पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रलले आफ्नो २२ औं स्थापना दिवस पोखरा–१७, छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

क्लबले आश्रममा खाद्यान्नको लागि २० हजार र भइपरि आउने खर्च व्यवस्थापनको लागि २० हजार नगद क्लबका अध्यक्ष कृष्णप्रसाद कोईरालाले आश्रमका राजन सापकोटालाई हस्तान्तरण गरेका थिए ।

क्लबका संस्थापकहरु सुर्यनाथ कोइराला, माधव प्रसाद पौडेल, कृष्णप्रसाद वास्तोला, विनोद बहादुर कार्की र रामजी ध्वजुले सम्युक्त रुपमा केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ वि १ का दितिय भाइस डिष्ट्रिक्ट गर्भनर विश्वेश्वर आचार्य, डिष्ट्रक्ट सेक्रेटरी बिनोद ढुंगाना, रिजन चेयर पर्सन दुर्गा आचार्य, जोन चियर पर्सन सीता पहारी, क्लबका पुर्व अध्यक्ष सुर्यनाथ कोइराला, विरौटा साझा चौतारीका अध्यक्ष सावित्रा पौडेल, आदर्श महिला समुहकी अध्यक्ष भगवती कोइराला, लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनका निवर्तमान अध्यक्ष कृष्ण रानाभाट लगाएतले वोल्नु भएको थियो ।

विगतमा स्थापना दिवस मनाउदाँ लाखौं खर्च भएको भन्दै यस वर्ष क्लबले आश्रममा आश्रित व्यक्तिहरुलाई सहयोग गर्दै स्थापना दिवस मनाएको कार्यक्रम संयोजक पृथ्वीराज तिमिल्सिनाले वताउँनु भयो ।

सो अवसरमा आश्रमका राजन सापकोटाले जुन संस्थाले आश्रमलाई सहयोग गर्दछ सोही संस्था आश्रमको अभिभावक हुने भएकोले लायन्स क्लब अफ पोखरा सेन्ट्रल पनि आश्रमको अभिभावक भएको वताएका थिए । उनले आश्रममा हाल ४५ जना महिला, ४७ जना पुरुष, ४ जना स्वयम् सेवकहरु, ३ जना तलबमा कर्मचारी र दुधे बच्चाहरु २ गरी १०१ जना रहेको पनि जानकारी दिनु भएको थियो ।

क्लबका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रामजी ध्वजुले र संचालन प्रथम उपाध्यक्ष बबिन बागदासले गर्नु भएको थियो ।