के हुँदैछ एनआरएनएको १२ औँ युरोपेली बैठकमा ?


बार्सिलोना। लगानी र पर्यटन प्रवद्वनको लक्ष्य सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ युरोपेली बैठकमा इटालीमा आयोजना गरिएको छ। युरोप क्षेत्रमा रहेका एनआरएनएका २८ वटा राष्ट्रिय समन्वय परिषदहरुको सहभागितामा आगामी अगष्ट ३ र ४ तारिख राजधानी रोममा बैठक हुन लागेको हो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त्त के हुँदैछ एनआरएनएको १२ औँ युरोपेली बैठकमा ?ढकालले बैठकको उद्घाटन गर्ने युरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवालले जानकारी दिए। यसअघि उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल आउने बताईएको थियो। यसअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल आउने बताइए पनि उनी भने सहभागी नहुने भएका छन् ।

युरोपमा रहेका एनआरएनहरुलाई गैर आबासीय नेपाली नागरिकताको बिषयमा केहि दुबिधा रहेको हुँदा कानुनमन्त्रीकै उपस्थितिमा बैठकमा छुट्टै सेसन चलाउने निर्णय भएको संयोजक बरुवालले बताए। उनले भने,” नागरिकता दिने भन्ने  संबिधानमा उल्लेख छ तर कुन प्राबधानमा के- के अधिकार सहित भन्नेबारे गैरआबासीय नेपालीहरु अस्पष्ट छन्। हामी यसबारे यसपटक गम्भिररुपमा छलफल गर्नेछौ।”
बैठकमा सहभागी गैर आबासीय नेपालीहरुलाई समृद्ध नेपाल बनाउनका लागि लगानी गर्न प्रेरित गरिने पनि उनले बताए।  गैर आबासीय नेपाली नागरिकता प्राप्तपछि लगानीका लागि नेपालको मौजूदा नियम र कानूनकाबारे पनि सो अबसरमा जानकारी गराईने भएको छ। 

नेपाल भ्रमण वर्ष–२०२०, युरोपको औपचारिक शुभारम्भ गरिने :-
एनआरएनएको १२ औँ युरोपेली बैठकमा नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिने भएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, भ्रमण वर्ष २०२० कार्यान्यवन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्य लगायतको उपस्थितिमा औपचारिक शुभारम्भ गरिने एनआरएन युरोपेली बैठक मूलआयोजक समितिले जनाएको छ। तर चार महिना पहिले पनि पर्यटन बोर्डका कार्यकारी अधिकृतको उपस्थितिमा बर्लिनको लोगेनहाउसमा एक समारोहबीच भ्रमण वर्ष युरोपको उद्घाटन गरिएको थियो। 
एनआरएन युरोप संयोजक बरुवालका अनुसार ईटालीका टुर तथा ट्राभल व्यवसायी, कूटनीतिक अधिकारी तथा गैर आबासीय नेपालीहरुको उपस्थितिमा भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिने छ। ईटालीका उच्च अधिकारीहरुलाई समेत कार्यक्रममा उपस्थिति गराउने प्रयास थालिएको बरुवालले बताए।  

युरोप केन्द्रित राहतकोषका लागि प्रस्ताव :-


युरोपमा बैधानिक वा अबैधानिक रुपमा रहदै आएका नेपालीहरु दिनप्रतिदिन समस्यामा पर्दै गएका छन्।पोर्चुगल,पोल्याण्ड,चेक गणतन्त्र,स्पेन,साईप्रस,माल्टा लगायतका देशहरुमा रहेका नेपालीहरु मुख्य रुपमा समस्याले ग्रसित छन्। कागाजी प्रक्रियाका लागि समस्याको एउटा पाटो छ भने अर्कोतर्फ बिभिन्न कारणले मृत्यु हुने नेपालीहरुको संख्या पनि बढ्दो छ। 


पोर्चुगलमा नेपालीको मृत्युको घटना त आजभोलि सामान्य जस्तै बनेको छ। सडक दुर्घटनाका कारण पनि नेपालीहरुले ज्यान गुमाईरहेका छन्। दुई महिना अघि मात्रै स्पेन र पोर्चुगलमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा साईकलमा सवार दुई नेपाली युवाहरुले ज्यान गुमाए। जटिल प्रकारका रोगका कारणपनि युरोपमा नेपालीहरुको मृत्यु भईरहेको छ। डिप्रेसन भई आत्महत्या गर्ने नेपालीहरुको संख्यापनि पछिल्लोक्रममा बढ्दो छ। त्यसको पछिल्लो उदाहरण हो ईटाली। गत बर्ष एक नेपाली युवा ईटालीको एउटा पार्कमा झुण्डीरहेको अबस्थामा फेला परे। तीन बर्षअघि साईप्रस आएकी एक नेपाली युवतीले आत्महत्या गरिन्। मानवतस्करले डोर्याएको सामुन्द्रिक बाटो हुँदै लिबिया देखि ईटाली आउनेक्रममा पनि दुईबर्ष अघि एक होनाहार नेपाली युवाले गुमाए। ईटाली छिर्नकै लागि लिबियामा दर्जनौ युवाहरु अहिले पनि अलपत्र छन्। 


पोर्चुगल र चेक गणतन्त्रका छुट्टाछुट्टै घटनामा एक नेपालीले अर्को नेपालीलाई छुरा हानेर हत्या गरेका जघन्य अपराधहरु पनि छन्। बिदेशमा नेपालीको ज्यान गईसकेपछि शतगदको लागि मृतकको शव ब्यबस्थापनका लागि एनआरएनए राष्ट्रिय समन्वय परिषदहरुले जिम्मेबारी निर्बाह गर्दै आएका छन्। सहयोग रकमका लागि एनआरएनए लगायत संघ संस्थाहरुले नेपाली समुदायलाई सहयोगको आह्ववान गर्दै आएका छन्। युरोप संयोजक बरुवालका अनुसार एनआरएनए पोर्चुगलले यसपटकको युरोपेली बैठकमा राहतकोष स्थापनाका लागि प्रस्ताव लैजादै छ। उनले भने,” एउटै देशमा मृत्युका घटनाहरु पटक पटक हुँदा सहयोग जुट्न पनि कठिन देखिएको छ। यस्तो परिस्थितिमा युरोपक्षेत्रका लागि छुट्टै राहतकोषको अबधाराणा लैजानु पर्ने केहि एनसिसिहरुको राय छ। यसबारे बैठकमा कुरा उठ्छ।”

१० औं युरोपेली महिला भेला:-

इटालीको रोमस्थित अरजाइफ प्यालेस होटलमा नै संघको १० औं महिला भेला समेत हुने भएको छ। युरोपका झन्डै  २० वटा मुलुकहरुमा रहेका महिलाहरुले भेलामा सहभागिता जनाउने युरोप क्षेत्रिय महिला उपसंयोजक संगिता मरहट्ठाले जानकारी दिईन्। भेला बारे जानकारी दिदै मरहट्ठाले भनिन्,” हामीले मुलत: युरोप क्षेत्रमा रहेका महिलाहरुका समस्याबारे नै छलफल गर्नेछौ। साथै आईसीसी मार्फत महिला फोरमले बिकट जिल्लामा रहेका महिलाहरुका बिबिध पक्षलाई सहयोग पुर्याउँदै आएको छ। यसका लागि सहयोग रकम जुटाउनका लागि पनि केन्द्रित रहने छौ।”
बैठकमा युरोप क्षेत्र बाहेक मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकबाट समेत एनआरएनहरुको बाक्लो सहभागिता रहने एनआरएनए ईटालीका महासचिव छबीलाल कंडेलले जानकारी दिए। एनआरएनएको केन्द्रिय अधिबेशन नजिकिदै गर्दा रोम बैठकमा चुनाबी माहोल र समिकरणका लागि पनि केन्द्रिय नेताहरु दौडधुपमा लाग्ने बुझिएको छ।