सत्तासीन दलहरुका कारण गणतन्त्र खतरामा:- कांग्रेस उपसभापति निधि


कोपनहेगन। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउनका लागि देशभित्र र बाहिर रहेका नेपालीहरु एकजुट  हुनुपर्नेमा जोड दिएका छन्। डेनमार्कको राजधानी कोपनहेगनमा नेपाली कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाद्धारा आयोजित नेपाली जनसम्पर्क समितिहरुको प्रथम बिश्वस्तरीय प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उपसभापति निधिले यस्तो बताएका हुन्।

उपसभापति निधिले सत्तासीन दलहरुका कारण लोकतान्त्रिक गणतन्त्रमाथि खतरा उत्पन्न भएकोले लोकतन्त्रबादीहरु एकजुट हुनुपर्ने बताए। लोकतन्त्रको रक्षा गर्न लोकतन्त्रबादीहरुको प्रमुख दायित्व भएको उनको भनाई थियो ।उनले भने,”

अहिलेको सरकारको नेतृत्व गरेको दलका नेताहरुबाटै प्रणालीमाथि खतरा उत्पन्न भएको छ। कम्य’निष्टहरुलाई संघीयतामाथि बिश्वास छैन,लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध नभएकोले उनीहरु संघीयता बिरुद्ध हाकाहाकी कुरा  गरिरहेका छन् ।”

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीमा गुट उपगुटका कुरा छाडेर एकजुट हुन पर्ने बताए। एकजुट भएर हिड्ने हो भने कांग्रेसलाई कुनै शक्तिले पनि पराजित गर्न सक्दैन।” कोईरालाले भने।

शनिबारको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल,नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिल बहादुर गुरुङ,स्पेनका संस्थापक अध्यक्ष चिन्तामणि सापकोटा, नेदरल्याण्डका संस्थापक अध्यक्ष नारायण आचार्य, अमेरिकाका संस्थापक अध्यक्ष बिष्णु सुबेदी, भारतका अध्यक्ष बालकृष्ण पाण्डे लगायतले बोलेका थिए।

कार्यक्रममा डा. मिनेन्द्र रिजाल, डा. रामशरण महत, बिश्वप्रकाश शर्मा, धनराज गुरुङ्, भीष्मराज आंगदम्बे, गोबिन्द भट्टराई, पत्रकार रामजी दाहाल लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।कार्यक्रममा बिश्वका २३ देशका करिब २०० प्रतिनिधिहरुको सहभागिता रहेको छ ।