आरजु म्याडमलाई ‘यो जर्नेल पनि जड्याहा नै रहेछ’ भन्ने पर्‍यो होला


-रुकमाङ्गद कटवाल-

खासमा प्रधानमन्त्री देउवासँग मलाई परिचित गराएको सुरक्षा परिषदले नै हो । म दिनमा एकपटक प्रधानमन्त्रीसँग भेट्ने वा ब्रिफिङ गर्ने मौका पाउँथेँ । यही क्रममा उहाँ मेरो कामबाट प्रभावित हुनुभएको थियो ।

प्रधानमन्त्रीको अडानले बल्लतल्ल अमेरिका त पुगियो, तर राष्ट्रपति बुस र राष्ट्रसंघका महासचिवसँगको भेटमा मलाई राखिएको रहेनछ । परराष्ट्रका सम्बन्धित व्यक्तिले मेरो नाम हटाएको जानकारी पाएँ । बुससँग भेट्ने मौका छुटाउने पक्षमा म थिइनँ । गइसकेपछि केही नबोली मुन्टोमात्र हल्लाएर फर्कने स्वभावको पनि परिनँ । मौका परे केही न केही कुरा राखौंला भन्ने थियो ।
मेरो हुटहुटी देउवापत्नी आरजुले थाहा पाइसक्नुभएको थियो ।
‘विषयवस्तुको ज्ञान र छलफल गर्ने सीप हेर्दा कटवाल जर्सापलाई लान उपयुक्त होला,’ उहाँले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
‘म जहाँ जहाँ जान्छु जर्साप सँगै जानुहुन्छ,’ प्रधानमन्त्रीले टुंगो लगाइदिनुभयो ।
वासिङटनको कार्यक्रम सकेर हामी न्युयोर्क गयौं । न्युयोर्कस्थित ट्विन टावरमा आतंककारी हमला भएको केही महिना मात्र भएको थियो । सुरक्षा जाँच निकै कडा थियो ।
मेरो ब्रिफकेसबाट एउटा नेल कटर पनि बरामद भयो । त्यो बोकेर जहाज चढ्ने अनुमति रहेनछ । सेक्युरिटीले मलाई देखाएरै त्यसलाई टुक्रा–टुक्रा पार्‍यो ।
बेलुकी न्युयोर्कको नेपाली स्थायी नियोगमा डिनर भयो । प्रधानमन्त्रीको प्रतिनिधिमण्डल, सांसद र नियोगका कर्मचारी भोजमा सामेल थिए । वासिङटनमा राष्ट्रपति बुससँगको भेटले प्रधानमन्त्री उत्साहित हुनुहुन्थ्यो । मेरो पहलमा पेन्टागन अधिकारीसँग भएको सकारात्मक कुराकानीले पनि उहाँ खुसी हुनुभएको थियो ।
डिनरमा मदिरा खुलिहाल्यो । सबैले चियर्स गर्नुभयो । म अलिकति तर्किएर बसेँ ।
‘जर्साप, एक पेग लिए हुन्छ नि !’ प्रधानमन्त्रीले अफर गर्नुभयो ।
मैले अघिपछि उहाँको अगाडि ड्रिंक नलिएकाले उहाँ ‘एक पेग’ भनिरहनुभएको थियो ।
‘थ्यांक यु सर,’ म अनकनाएँ, ‘टुरभरि नखाने विचार गरेको छु ।’
उहाँले फेरि अफर गर्नुभयो । नाइँ भन्न पनि नमिल्ने, पिउन पनि उचित नलागिरहेको अवस्था आयो ।
‘हजुरको भ्रमण सफल पारौं, काठमाडौं गएर मस्तले खाऊँला नि,’ मैले भनें ।
त्यही माहोलमा संयुक्त राष्ट्रसंघीय महासचिव कोफी अनानसँगको भेट प्रसंग निस्कियो । अनानसँगको भेटमा पनि मेरो नाम छुटाइएको रहेछ ।
प्रधानमन्त्रीले तुरुन्त आदेश दिइहाल्नुभयो, ‘जर्सापको नाम किन छुटाएको ? तुरुन्त हाल्नुस् ।’
अनानसँगको भेटमा म पछिल्लो लहरमा बसेको थिएँ । सामान्य शिष्टाचारपछि प्रधानमन्त्रीले भन्नुभयो, ‘माई जेनरल विल ब्रिफ यु ।’
प्रधानमन्त्रीको आदेशअनुसार मैले तीन–चार मिनेट कुरा राखेँ । त्यसमा नेपालको माओवादी आतंक र सुरक्षाका विषयवस्तु नै थिए ।
हाम्रो प्रतिनिधिमण्डल अमेरिकाबाट बेलायत फर्कियो । बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई भेटेपछि देउवा झन् खुसी हुनुभयो । ब्लेयरसँग पनि अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध एकजुट भएर लाग्ने कुरा भयो । नेपाल पनि आतंकवादको चपेटामा परेको कुरा प्रधानमन्त्री देउवाले राख्नुभयो ।
बिबिसीले प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिन खोज्यो । उहाँले तुरुन्त दिनुभएन । के के बोल्ने सल्लाह गरेर मात्र उहाँ अन्तर्वार्ताका लागि तयार हुनुभयो ।
प्रतिनिधिमण्डलसँगको सरसल्लाहअनुसार देउवाले एकदम राम्रो बोल्नुभयो ।
त्यही साँझ प्रधानमन्त्रीबाट मलाई बोलावट भयो । सिभिल पहिरनमै गएँ ।
देउवा दम्पतीमात्र बसेको सुइटमा भित्र डाक्नुभयो ।
‘जर्साप राज होस्,’ म्याडमले भन्नुभो ।
‘तपाईंलाई अहिलेसम्म मैले केही सोधिनँ । खर्चबर्च के कसो थियो ?’ प्रधानमन्त्रीले सोध्नुभयो ।
मैले कुरा बुझिहालेँ, तुरुन्त जवाफ दिएँ, ‘प्रशस्त छ, थ्यांक यु हजुर ।’
उहाँले मलाई पैसाबारे सोध्नु अचम्म मान्नुपर्ने कुरा होइन । प्रधानमन्त्रीका प्रतिनिधिमण्डलमा तीन–चार जना सांसद थिए । उनीहरूलाई दिइरहन उहाँले गोजीबाट फुत्तफुत्त डलर झिकेको देख्थेँ ।
लामो भ्रमण क्रममा प्रधानमन्त्री देउवासँग पटक–पटक कुराकानी गर्ने अवसर मिल्यो । हामी दुईजनै घरव्यवहार, सिनेमा वा कथा–कविताको समीक्षामा समय बिताउने खालका थिएनौं । हाम्रो अनौपचारिक कुरा पनि आतंककारी गतिविधि, द्वन्द्व, सुरक्षा कारबाही आदिमै केन्द्रित हुन्थ्यो । मुलुकको कार्यकारी प्रमुख त्यो पनि जननिर्वाचितसँग आफ्नो कुरा राख्न पाउनु मेरा लागि मौका थियो ।
मैले सेनाबारे जानेबुझेसम्म प्रधानमन्त्रीलाई प्रस्ट पार्न पाएँ । देउवा सेना, राजसंस्था र प्रजातान्त्रिक पद्धतिका समर्थक हुनुहुन्थ्यो ।
अमेरिका भ्रमणबाट फर्केपछि एक दिन बालुवाटारबाट निम्तो आयो । आरजु म्याडम आफैंले निम्तो दिनुभयो । बेलुका ७ बजेतिर म पुगें । को को निम्तालु छन् मलाई थाहा थिएन । अरू भिआइपीसँग मिसिन पाउने भएँ भनेर खुसी नै थिएँ ।
म पुग्दा प्रधानमन्त्री सिंहदरबारबाट आइसक्नुभएको थिएन । मलाई बैठक कोठामा लगिएन । सरासर माथिको प्राइभेट रूममा लगियो ।
एकैछिनमा प्रधानमन्त्री आइपुग्नुभयो । म एउटा सिपाही, बल्लतल्ल विशिष्ट श्रेणीमा उक्लेको अधिकृत । निम्तालु त म मात्र रहेछु । प्रधानमन्त्री, आरजु म्याडम र म ।
सिभाज रिगलको बोतल फोरियो । अनेक टिटबिट्स र ह्विस्कीको चुस्कीमा गफ गर्दागर्दै चार घन्टा बितेको पत्तै भएन । उहाँको गफिने मुड भने सकिएको थिएन ।
आरजु म्याडमलाई ‘यो जर्नेल पनि जड्याहा नै रहेछ’ भन्ने पर्‍यो होला !

( बिहीबार सार्वजनिक भएकाे कटवालको आत्मकथाबाट )