मञ्जुईकको डाँडैमुनि अस्ताए पुजन


बार्सिलोना। युरोप सपना देखेर स्पेन छिर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ। गन्तब्य बनाईएको मुलुकमा स्थायी बसोबासकोलागि भविष्य नदेखेपछि स्पेनमा स्थानान्तरण हुनेक्रम अझै घटेको छैन। स्पेनमा रहेका नेपालीहरुमध्ये सबैभन्दा धेरै नेपालीहरुले कर्मथलो बनाएको शहरपनि हो बार्सिलोना ।

सुरुवाती दिन शहर घुमफिरमानै ब्यस्त हुन्छन्,ओलम्पिक खेल आयोजना गरिएको स्थानकोरुपमा परिचित मञ्जुईक डाँडा नपुग्ने सायदै होलान्। डाँडाबाट देखिने सुन्दर दृश्यसँगै सुनौलो भविष्य खोजि त्यहीबाट नै सुरु हुन्छ। निलो समुन्द्र, नजिकैको बन्दरगाहा र डाडैमुनि भित्तामै बनाईएको समाधिस्थल माथिबाट देखिने मुख्य दृश्यहरु हुन्।

७ महिनाअघिमात्र जर्मनीदेखि स्पेनमा भविष्यमा खोज्दै आएका स्याङ्जाका पुजन कोईरालाले त्यही रमणीय मञ्जुईक डाँडैमुनि आफ्नो अन्तिमसंस्कार होला भन्ने कहिल्यै सोचेका थिएनन्। २२ बर्षको अल्पआयूमै सडक दुर्घटनामा उनले ज्यान गुमाए। अन्तत: त्यहि डाँडैमुनि अस्ताए। युरोप पुगेको छोराको घर आउने बाटो हेरिरहेकी आमाले अन्तिमपटक अनुहार समेत देख्न पाईनन्।

स्याङ्जा विरूवा गाउँपालिका-६ चिन्नेबास स्थायी घर भएका कोईरालाको बिहिबार दिउँसो क्रेमातोरिया मन्जुईकमा अन्तिम श्रद्धान्जलीसहित हिन्दुपरम्परा अनुसार अन्त्यष्टि गरिएको हो। साईकलमा सवार कोईरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले ठक्कर दिँदा गत मई २५ तारिख घटनास्थलमै मृत्यु भएको थियो। होम डिलीवरीको सेवा दिने एक कम्पनी ग्लोबोमार्फत खाना पुर्याउन हिडेका उनि बार्सिलोना स्थित ग्रानभिया र बाल्मेस जक्सनमा दुर्घटनामा परेका थिए।

जर्मनीका रहेका उनका नातेदार टंक लम्सालले भाबुक हुँदै आफ्ना भतिजको सम्झना गरेका छन्। उनि फेसबुकमा लेख्छन्,” माधव दाईको धेरैवर्ष अघिनै उपचारकोक्रममा निधन भयो। त्यसपश्चात आमा, बहिनी र सिंगो परिवारको आशा र सपना वोकेर जर्मनी आयौ। केहि महिना मात्रै भएको थियो स्पेन सरेको तर आजको दिनसम्म पनि भाउजुसँग वोल्ने मेरो हिम्मत छैन।”

स्पेनस्थित नेपाली समुदायले कोईराला परिबारको सहयोगार्थ झन्डै २२ हजार युरो संकलन गरेको छ। एनआरएनए स्पेनको पहलमा सुरु भएको सहयोग अभियानमा स्पेनस्थित नेपाली संघसंस्थाहरु लगायत बिभिन्न शहरहरुमा रहेका नेपालीहरुले सहयोग गरेका हुन्।

एनआरएनए जर्मनीका महासचिव समेत रहेका लम्साल एनआरएनए स्पेन र नेपाली समाजको लगाव र योगदानप्रति आभारी छन्। उनि लेख्छन्,” मर्दा र पर्दा अनि नेपालीका लागी नेपाली भन्ने मैले स्पेनमा नै देखे ।एक पारिवारिक अभिभावकको तर्फवाट यहॉंहरु प्रति जीवनभर ऋणी हुनेछु ।”

एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाले रकम आउनेक्रम अझै जारी रहेको बताए। उनले भने,”सोमबारसम्ममा हामी रकमसंकलन गर्छौ,अन्तिम सस्कारमा झण्डै अझै ३ हजार २ सय युरो खर्च भएको छ ,बाँकी रकम उनकी आमाको खातामा एनआरएनए स्पेनमार्फत पठाउने छौ।

बहिनीलाई अत्यन्तै माया गर्ने पुजनले जन्मदिनको उपलक्ष्यमा फेसबुकमा लेखेका थिए,”मेरी प्यारी बहिनी, म तिमीलाई हरेक कुरा भन्छु किन थाहा छ किनकी तिमि मेरी हरेक सुखदुखमा साथ दिन्छौ। तिमिजस्तो बहिनी थोरैमान्छेले मात्र यो संसारमा पाउँछ। र म जस्तो दाईपनि कमैले। तिम्रो दाईसँगै जर्मनी आउने सपना छिट्टै पुराहोस्। राम्रोसँग पढ्नु सधैँ खुशी रहनु। अर्कोपटकसँगै भएर जन्मदिन मनाउन पाईयोस्।”

यतिधेरै माया गर्ने बहिनीबाट आँफै टाढिए पुजन। तर उनको भविष्य जोडिएको परिवारको साथमा भने स्पेनको नेपाली समुदाय जोडिएको छ। उनकी आमा र बहिनिको भविष्यसम्झेर यहाँरहेका प्रत्येक नेपालीहरुले मनदेखिनै सहयोग गरेका छन्। पुजनजस्तै संघर्ष गरीरहेका छोराछोरीहरुले आफ्नो थोरै-थोरै कमाईजम्मा गर्दै आमा र बहिनीको भविष्यबारे सोचीरहेका छन्।