मुक्तकमणि राष्ट्रिय पुरस्कार रत्न शमशेरलाई


पोखरा । नेपाली वाङ्मयका अग्रज स्रष्टा साधक रत्न शमशेर थापालाई पोखराबाट सञ्चालित मुक्तकमणि राष्ट्रिय पुरस्कार अर्पण गरिने भएको छ ।

१९९६ साउन १६ गते काठमाडौंको कमलपोखरीमा जन्मेर अङ्ग्रेजीमा स्नातकोत्तरसम्मको अध्ययन गरेका थापा वाङ्मयका कविता, गीत र मुक्तक विधामा क्रियाशील साधक हुन् । उनका ओभानो सिउँदो (२०२०), रुझेको परेला (२०२५), चकलाभरिको घाम (२०३६), दोभान
(२०४२), अतित सम्झदै (२०४२), जीवनका लहरहरू (२०५३), ताराका काँचा रङ्ग (२०६०) लगायतका काव्यकृति चर्चामा छन् ।

वाङ्मयका प्रायः विधाबाट पुरस्कृत र सम्मानित थापा यस अगाडि छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, भीमदर्शन रोक्का पुरस्कार, मुक्ति पुरस्कार, नातीकाजी सङ्गीत पुरस्कार, जगदम्बाश्री पुरस्कार, राष्ट्रिय मुक्तक पुरस्कार, भूपी काव्य पुरस्कारसहित दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान–पुरस्कारबाट विभूषित भइसकेका छन् ।

लमजुङमा जन्मेर मुक्तक, कविता र गीत विधामा क्रियाशील तीर्थराज अधिकारीद्वारा मातापिताको स्मृतिमा गीताञ्जली साहित्य परिवारको सञ्चालनमा स्थापना गरिएको रुकमिणा–नारायणदत्त मुक्तकमणि पुरस्कार अक्षयकोषबाट पहिलोपटक थापालाई पुरस्कृत गर्न लागिएको हो ।

उक्त पुरस्कारको राशि हाल एघार हजार पाँच सय नगद र सम्मानपत्र रहेको छ । पुरस्कारका संस्थापक अधिकारी नेपाली मुक्तकलाई अङ्ग्रेजी भाषामासमेत प्रकाशन गरी विशिष्ट पहिचान बनाएकाले नेपाली साहित्यको सबैभन्दा ठूलो सञ्जाल रहेको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा मुक्तकमणि उपाधिबाट विभूषित स्रष्टा हुन् । अनेसास बोर्ड अफ ट्रष्टीका सदस्यसमेत रहेका अधिकारीका जूनकीरी, ऐना, तीनलय तेह्रगीत, यो कस्को हात हो ? झटारो, बिरिमफूल, लमजुङको सम्झना, मायालगायतका गीति तथा कविता कृति प्रकाशित छन् ।

गीताञ्जली साहित्य परिवारको नियमित रचनावाचन सँगसँगै मुक्तकमणि पुरस्कार, गीताञ्जली साहित्य रत्न पुरस्कार र तुलसी–मुवा–अहिल्या बालसाहित्य पुरस्कार एकै साथ अर्पण गरिने परिवारका सचिव भानु भण्डारी छितीजले बताएका छन् ।

यस अगाडि नै प्रतिभा छनौट समितिले गीताञ्जली रत्न पुरस्कार प्राडा कुसुमाकर न्यौपाने र बाल साहित्य पुरस्कार प्रियदर्शन पहारीलाई अर्पण गर्ने घोषणा गरिसकेको छ । यी तीनवटै प्रतिभा छनौटका लागि साहित्यकार तारा पाखेको संयोजकत्वमा असफल गौतम र प्रतिभा शर्मा सदस्य रहेको समितिले पुरस्कारका लागि प्रतिभा सिफारिस गरेको हो ।

गीताञ्जली साहित्य परिवारद्वारा सञ्चालित उक्त पुरस्कार यही वैशाख ७ गते गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरको प्रमुख आतिथ्यतामा अर्पण गरिने परिवारका अध्यक्ष शिवप्रसाद गौतमले जानकारी थिए ।