सेकेण्ड भाइस गभर्नरका उमेद्वार आचार्यको चुनावी प्रचारप्रसार तिव्र


पोखरा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं महाधिवेशनका लागि सेकेण्ड भाइस गभर्नरमा उम्मेदवारी प्रस्तुत गरेका विशेश्वर आचार्यले चुनावी प्रचारप्रसार तिव्र पारेका छन् । उनको पक्षमा तनहुँ र स्याङ्जाका प्राय लायन्स क्लबहरु देखिएका छन् । चुनावी प्रचार–प्रसारको क्रममा बुधबार तनहुँको खैरेनीटार दुलेगौंडा क्षेत्रमा र मंगलबार स्याङजाको विभिन्न क्षेत्रमा आचार्यको टोली पुगेको थियो ।

चुनावी अभियानका क्रममा तनहुँ र स्याङ्जा पुग्दा त्यहाँका प्राय सबै क्लबहरुको समर्थन आचार्यको पक्षमा देखिएको लायन्स क्लब अफ पोखरा सेन्ट्रलका अध्यक्ष रामजी घजूले जानकारी दिए । आचार्य सेन्ट्रलका पूर्व अध्यक्ष हुन् । लामो समय लायन्समा लागेको, लिडरसिपको राम्रो क्षमता भएको, सामाजिक क्षेत्रमा निरन्तरको सक्रियताका कारणले आचार्यलाई सेकेण्ड भाइस गभर्नर बनाउनुपर्नेमा वक्ताहरुको जोड थियो ।

तनहुँको दुलेगौंडा खैरेनी क्षेत्रको कार्यक्रममा रिजन चियरपर्सन कृष्णप्रसाद पौडेल, कमिटि चियरपर्सन तीर्थ खनाल, जोन चियरपर्सन ज्योती श्रेष्ठ, लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटीका पूर्व अध्यक्ष मोती पौडेल, गण्डकी मल्टिपल कलेजका प्रिन्सिपल मोहदत्त पोखरेल, शुक्लागण्डकी टाउनका संस्थापक अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, वर्तमान अध्यक्ष प्रदीप थापा, खैरेनी सिटीका अध्यक्ष हरि खड्का लगायतले बोलेका थिए । सक्षम व्यक्तित्व आचार्यबाट लायन्समा परिवर्तन पाउने आशा आफूहरुले गरेको उनीहरुले बताए ।

यसैबीच, स्याङजाका विभिन्न ठाउँमा पनि आचार्यको चुनावी कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जामा आयोजित कार्यक्रममा पनि आचार्यको पक्षमा उत्साहजनक साथ देखिएको छ । स्याङ्जाको पुतलीबजार, वालिङ र गल्याङका लायनहरुसंग भेटघाट, छलफल एवं सुझाव संकलन गरेर फर्किएका छन् । स्याङ्जामा उम्मेदवार आचार्यको उपस्थितिले त्यहाँस्थित लायनहरु उत्साहित देखिएका छन् । उनीहरुले उम्मेदवार आचार्यलाई चुनावबाट नडराउन र जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न आग्रह गरेका छन् ।

उनीहरुले लायन्समा आशालाग्दा व्यक्तित्व आचार्य मात्रै भएको भन्दै चुनावबाटै योग्य व्यक्ति आउने भएकाले नडराउन उम्मेदवार आचार्यलाई सुझाव दिए । लायन्स भित्र राजनीति हुन खोजेको भन्दै त्यसलाई चिर्न र विकृति विसंगति रोक्न आचार्यको उम्मेदवारी उपयुक्त भएको भन्दै उनीहरुले आचार्यलाई सबैको साथ र समर्थन रहने स्पष्ट पारे । उक्त अवसरमा उम्मेदवार विशेश्वर आचार्यले सबैको भावना, चाहना, सल्लाह र सहमति अनुसार आफू अघि बढेको भन्दै कदापि पछि नहट्ने स्पष्ट पारे । उनले लायन्सभित्र मन विभाजन गर्ने चेष्टा भएको भन्दै यसलाई असफल पार्नुपर्ने बताए ।