डेनमार्कमा भलिबल टुर्नामेन्ट हुदै


  •  महेशकुमार खाती

कोपनहेगनमा १६ सेप्टेम्बरका दिन बिष्णु स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । प्रस्ताबित नेपाली प्रगतिशील प्रवासी मन्च (तत्कालिन एमाले निकटको प्रवासी नेपाली मन्च ओएनएफ र माओवादी केन्द्र निकटको नेपाली जनप्रगतिशील मन्च एनपिपिएफ) को आयोजनामा नेपालीभाषी पुरुषबिच भलिबल प्रतियोगिता हुन लागेको हो ।

डेनमार्कमा नेपालीहरु बिच भलिबल खेलाउन शुरु गर्ने परिकल्पनार तथा तत्कालिन ओएनएफका उपाध्यक्ष स्वर्गिय बिष्णु पौडेलको सम्मान तथा सम्झनामा प्रतियोगिता हुन लागेको हो । करिव डेढ वर्ष अघि पौडेलको अल्पायुमै कोपनहेगनमा मृत्यु भएको थियो । ओएनएफले यस अघि हरेक वर्ष गरि तेस्रो पटक भलिबल प्रतियोगिता आयोजना गरिसकेको छ । यसपटक दुबै सङ्गठन एकता भएपछि पौडेलको सम्मानमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजकले बताएका छन् ।

प्रतियोगिताको घोषणा लगत्तै खेलाडिहरु अभ्यासमा जुटेका छन् । करिव आधा दर्जन जति टिमले प्रतिस्पर्धामा भाग लिने आयोजकको अपेक्षा छ । प्रतियोगितामा प्रथम र दृर्तिय हुने टिमले पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिता सफल पार्नको लागि दीपक पाण्डेयको सम्योजकत्वमा समिति गठन भएको छ । जसको सहसम्योजकमा प्रकाश श्रेष्ठ छन भने आर्थिक सम्योजकमा महेन्द्र खड्का रहेका छन् ।

सम्योजक पाण्डेयले भलिबल खेलको विकास सङ्गै नेपालीलाई खेल मार्फत एकताको सुत्रमा बाध्न पनि सहयोगी हुने विश्वास व्यक्त गरे । तत्कालिन ओएनएफका अध्यक्ष शिव चापागाइले बिगतमा जस्तै यसपाली पनि सबै नेपालीको साथ र सहयोग पाउने आशा राख्दै सफल पार्न अनुरोध गरेका छन् । तत्कालिन एनपिपिएफका अध्यक्ष डा.भानु पोख्रेलले भलिबल प्रतियोगिता खेल र मनोरन्जन मात्र नभएर यहाका नेपालीलाई नजिक बनाउन सहयोगी बन्ने विश्वास व्यक्त गरे ।