काहुँखोलामा १ सय ५५ औं अक्षरयात्रा


पोखरा । पोखराको विशेष साहित्यिक अभियान अक्षरयात्राको १ सय ५५ औं शृंखला काहुँखोला पुगेको छ । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्राको यो शृंखला जनकल्याण समिति काहुँखोलाको समन्वयमा भएको हो ।

‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने मूल नारासहित हुँदै आएको अक्षरयात्रामा झन्डै दुई दर्जन स्रष्टाले सिर्जना वाचन गरे ।
साहित्यिक पर्यटनको अवधारणालाई आत्मसाथ गर्दै देशका विभिन्न ठाउँमा अक्षरयात्रा हँुदै आएको छ । अक्षरयात्रीले असारसँग सम्बन्धित कविता सुनाए । प्रेम र समसमायिक सिर्जनाले जनकल्याण समितिको सभाहल रोमाञ्चक बन्यो । यात्रीहरुले कवितामार्फत किसान र गाउँका सिर्जना सुनाए ।

बढ्दो जनसंख्या र पूर्वाधारले पोखरा अस्तव्यस्त भइसकेको भन्दै काहुँखोलालाई जोगाउन कविहरुले आह्वान गरे । अक्षरयात्राका परिकल्पनाकारमध्येका एक प्रकट पगेनी ‘शिव’ले जनकल्याण समितिले सामाजिक काम गर्दै आएको भन्दै काहुँखोलालाई बचाउन पनि नेतृत्व लिन आग्रह गरे । जनकल्याण समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार लोकबहादुर कार्कीले यसअघि पनि ३ पटकसम्म अक्षरयात्राका लागि सहकार्य गरिएको र आगामी दिनमा पनि अक्षरयात्रासँग हातेमालो गर्ने बताए ।

अक्षरयात्रामा रुपिन्द्र प्रभावी, कपिल शर्मा, हेमन्त हितैसी, सौगात पोखरेल, शंकर ज्ञवाली, प्राञ्जल, युवराज त्रिपाठी, सुदर्शन पौडेल, धर्मराज पौडेल, लक्ष्मी भट्टराई लगायतले सिर्जना वाचन गरे। सोही अक्षरयाकै अवसरमा संस्थाका सदस्य तथा पदाधिकारीका लागि लेख तथा रचना लेखन कक्षा पनि समितिले सञ्चालन गरेको छ। कवि प्रकट पगेनी र रुपिन्द्र प्रभावीले लेखन सम्बन्धी अनुभव र अनुभूति साटे । लेख रचना लेख्दा विषय केन्द्रितका विषयमा प्रभावी र पगेनीले अनुभव सुनाए।

सन्ध्याका अध्यक्ष अमृत सुवेदीले साहित्य र पर्यटनलाई जोडेर जीवन र जगतलाई नजिकबाट बुझेर साहित्यको श्रीवृद्धि गर्ने काम अक्षरयात्राले गर्दै आएको बताए । अक्षरयात्रा एउटा साहित्यिक अभियान रहेको र यो निरन्तर चल्ने भनाइ राखे। नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले जनकल्याण समितिले निरन्तर सहकार्य गरेको र आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे।

जनकल्याण समितिका अध्यक्ष देवराज बरालले २०४९ सालमा स्थापना भएको समितिले सामाजिक क्षेत्र निरन्तरण क्रियाशील हुँदै समाजको अगुवाई गरेको बताए । अक्षरयात्राकै मेसोमा लेख तथा रचना कक्षा पनि सञ्चालन गरेर संस्थाका सदस्य तथा पदाधिकारीको पनि लेखन अभिवृद्धिको प्रयास गरिएको उनको भनाइ थियो । समितिका युवा समिति संयोजक विनोद आचार्यले लेखन कक्षाले सिजर्नाकर्ममा अभिप्रेरित गरेको बताए । सन्ध्याका सचिव वसन्त विनोदले अक्षरयात्राको सहकार्यका लागि समितिलाई धन्यवाद दिए । समितिका महासचिव कुमार केसीले संस्थाले समाजका हरेक क्षेत्रमा आफ्नो क्रियाशिलता बढाउँदै लगेको बताए ।