मानवतस्करी रोक्न एनआरएनए आप्रवास समस्या समाधान उपसमितिको जोड


बार्सिलोना। गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) को आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।दैनिक बढ्दै गइरहेको मानवतस्करी रोक्न र वैदेशिक समस्या समाधानका लागि सरकारसँग मिलेर काम गर्नु पर्नेमा जोड दिदै शनिबार अनलाईन मार्फत बैठक बसेको हो।

रोजगारीका लागि बिदेशिएका गैर आबासीय नेपालीहरुको समस्या समाधानमा पहलकदमी चाल्ने उद्देश्य सहित संघको अन्तराष्ट्रिय परिषदले उपसमिति गठन गरेको हो। बैठकमा सल्लाहकारद्वय डा. बोधराज सुबेदी र धरम केसीले बैदेशिक रोजगारका लागि आएका नेपालीहरुको समस्याबारे जानकारी संकलन गरी त्यसको छलफल सम्बन्धित मुलुकको राष्ट्रिय समन्वय परिषदहरुसँग गर्नु पर्नेमा जोड दिए।

आआफ्नो क्षेत्रमा देखिएका बिबिध समस्याहरुको लिखित टिप्पणी आगामी बैठकमा पेश गर्ने निर्णय भएको समितिका संयोजक दीपक खरेलले बताए। खरेलले भने,”बैदेशिक रोजगारीका आएका नेपालीहरुका समस्याहरु बारेमा हामी चिन्तित छौ,यसका लागि उपसमितिले समस्याको पहिचान सहित केन्द्रलाई जानकारी गराई पहलकदमी चाल्छौ।”

रोमानिया निबासी नवराज पोखरेललाई उपसमितिको उपसंयोजकमा नियुक्त गर्ने बैठकले निर्णय गरेको छ। बिभिन्न देशका गरी १५ सदस्यहरुको अनलाईन मार्फत आ-आफ्नो राय तथा सुझाव राखेका थिए।