कास्कीको घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव  सुरु


पोखरा- कास्कीको घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव  सुरु भएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्न गत असोज २५ गते अन्नपूर्ण आधार शिविरमा प्रथम चरणको कार्यक्रम सम्पन्न गरिएको थियो भने दोस्रो चरण अन्तर्गत गत पुस १० देखि १५ गतेसम्म तमु ल्होसार विशेष कार्यक्रमसहित छोम्रोङमा सम्पन्न भएको थियो । महोत्सवको तेश्रो तथा अन्तिम चरणको कार्यक्रम अन्र्तगत विहीबारदेखि अन्नपूर्ण गाउँपालिकाको मेश्रम वराह माविको प्राङ्गणमा सुरु महोत्सवको प्रदेश चारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजित महोत्सवको उद्घाटन गदै प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले आगामी पाँच वर्षभित्र घान्द्रुक पुग्ने मोटरबाटोलाई कालोपत्र गर्ने घोषणा गरे । प्राकृति र संस्कृतिले भरिपूर्ण अन्नपूर्ण गाउँपालिका प्रदेशकै धरोहरका रुपमा रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले पर्यटकीय राजधानी बनाउन अन्नपूर्ण क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

प्रदेश नम्वर चारका सांसद राजीव पहारीले जलवायु परिवर्तनले हिमालहरु कालापत्थरमा परिणत भएको र पदयात्रा मार्ग मोटरबाटोले धुलाम्मे भएकोप्रति चिन्ता व्यक्त गर्दै अन्नपूर्ण क्षेत्रको पर्यटन विकासमा चुनौति थपिएको बताए । पूर्वमन्त्री प्रकाशबहादुर गुरुङले अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवधारणाले पर्यटन व्यवसायको विकास र विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सव मुल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले महोत्सवबारे प्रकाश पार्दै महोत्सव नाफा आर्जनतर्फ नभई विशुद्ध पर्यटन प्रवद्र्धततर्फ केन्द्रित रहेको जानकारी दिए । उनले महोत्सवको आरम्भपछि अन्नपूर्ण आधारशिविर पदयात्रा मार्गमा आन्तरिक तथा वाह्य पर्यटकको उल्लेख्य वृद्धि भएको बताए । । उनले अन्नपूर्ण दिवसको अवसरमा आयोजना गरिएको अन्नपूर्ण म्याराथनलाई आगामी दिनमा निरन्तरता दिइने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका उपप्रमुख सगुन गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाली काँग्रेस महासमिति सदस्य दिपक गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं. १० का कुमार गुरुङ, वडा नं. ५ का अध्यक्ष जीवनाथ पौडेल, मेश्रम वराह माविका प्रधानाध्यापक रामेश्वर सुवेदी, अर्थसंकलन समितिका उपसंयोजक रुपबहादुर गुरुङ, महोत्सवका सहसंयोजकद्वय भुवनेश्वर गुरुङ र क्षेत्रबहादुर गुरुङ, महासचिव दिलीप गुरुङ लगायतले अन्नपूर्ण क्षेत्र र धान्द्रुकको बारेमा चर्चा गरेका थिए ।

यसैवीच महोत्सवको प्रथम चरणका क्रममा अन्नपूर्ण आधार शिविर पुगेर समाचार सम्प्रेषण गर्ने पत्रकार एवं सञ्चारकर्मीलाई सम्मान गरिएको थियो भने घान्द्रुकको होटल इतिहासमा पहिलो होटल व्यवसायी कप्तान स्वर्गीय कुलबहादुर गुरुङलाई मरणोपरान्त सम्मान गरिएको छ । स्वर्गीय गुरुङका छोरा रेलबहादुरले उक्त सम्मान ग्रहण गरे । महोत्सवको तेस्रो चरण अन्नपूर्ण म्याराथन सहित जेठ २० गते सम्पन्न हुनेछ । जेठ २० गते अन्नपूर्ण आधारशिविरबाट म्याराथन सुरु भएर घान्द्रुक पुगेर सम्पनन हुने छ ।