बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीले सजाय माफी पाए


काठमाडौँ–ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोप लागेका बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीले सजाय माफी पाएका छन् ।

उनीहरुलाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिइएको हो ।गणतन्त्र दिवसका अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको सजाय माफी दिएकी हुन् ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत आठ सय सोह्र जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’

द्वन्द्वकालिन मुद्दामा बालकृष्ण ढुंगेलले जेल सजाय भोगिरहेका थिए । उनले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएको कारागार व्यवस्था विभागले जनाएको छ ।यद्यपि, ढुंगेललाई माफी दिन लागिएको भन्दै केही दिनयता विरोध प्रदर्शन भइरहेको छ भने सर्वोच्च अदालतमा रिट समेत परेको थियो ।

सोमवार अदालतले ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मगाएको थियो ।दिल्लीबजार कारागारबाट रिहा भएलगत्तै ढुंगेल नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यलय पुगेका थिए ।त्यहाँ उनलाई पार्टी कार्यलयका कर्मचारीले स्वागत गरेका थिए ।पार्टी कार्यलय पुगेका ढुंगेलले धर्तीमा पाइला टेकुन्जेल देश र जनताका लागि लडिरहने बताए ।

ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्याको अभियोगमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका ढुंगेल पक्राउ गत कार्तिकमा पक्राउ परेका थिए ।

ललितपुरको सातदोबाटोबाट मंगलबार बिहान सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेक थिए ।