बार्सिलोनामा राजदूत रायमाझीसँग अन्तरक्रिया हुँदै


बार्सिलोना/ स्पेनका लागि पहिलो नेपाली राजदूत भरत बहादुर रायमाझीसँग बार्सिलोनामा अन्तरक्रिया हुने भएको छ। स्पेनमा सबै भन्दा बढी नेपालीहरु बसोबास गर्ने बार्सिलोना शहरमा राजदूतसँग पहिलो पटक भेटघाट तथा अन्तरक्रिया हुन लागेको हो। स्पेनका नेपाली राजदूताबास स्थापना गर्नका लागि बार्सिलोनामा बसोबास गर्ने नेपाली समुदायको महत्वपूर्ण योगदान रहेको थियो।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको आयोजनामा शुक्रबार हुने कार्यक्रममा राजदूत रायमाझीसँगै दूताबास कर्मचारी टोलि सहभागी बन्ने भएको छ। संघका अध्यक्ष चिन्तामणी सापकोटाका अनुसार दूताबासले प्रदान गर्ने सेवा समेत सोहि अबसरमा टोलिले प्रदान गर्ने छ। राहदानी लगायत बिभिन्न कागाजी प्रक्रियाका लागि समेत घुम्ती टोलि मार्फत बार्सिलोनाबाट नै गरिने हुँदा यहाँ रहेका नेपालीहरुलाई सहज हुने अनुमान गरिएको छ।

यसैबीच राजदूत रायमाझी समेत म्याड्रिडमा दूताबास कार्यलय स्थापना गरेर पहिलो पटक बार्सिलोनामा आउँन लागेका हुन्। एनआरएनए स्पेनले शुक्रबार र शनिबार गरी दुई दिन दूताबासबाट दिईने सेवा साथै राजदूतसँग अन्तरक्रिया तथा रात्रिभोजको कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रमबारे बिबरण:-

  • दूताबासबाट दिईने सेवा:-  मे २५ शुक्रबार २ बजे देखि ५ बजे सम्म / साँझ ७ बजे देखि राति ८ बजे सम्म तथा  मे २६ तारिख शनिबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म (एनआरएन स्पेनको कार्यलयबाट)
  • राजदूतसँगको अन्तरक्रिया :- मे २५ शुक्रबार दिउँसो ४ बजे देखि साँझ ७:३० सम्म (सिसिलियाको तल्लो हल )
  • राजदूतसँग डिनर कार्यक्रम:- शुक्रबार राति  ८ बजे (गान्धी रेस्टुरेन्टमा)
  • (नोट -डिनरको रकम आफै भुक्तानी गर्नु पर्नेछ)
  • राजदूतसँग संस्थागत तथा महत्बपुर्ण भेटघाट:- शनिबार दिउँसो १२ बजे पछि