पोखरा स्पोर्टस् अवार्डका लागि खेलाडी मनोनयन सार्वजनिक


पोखरा –  नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा यही जेष्ठ १८ गते पोखरामा हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड २०७४ को लागि विभिन्न विधाका खेलाडीहरुको मनोनयन सार्वजनिक गरिएको छ ।

विभिन्न विधामा प्रदान गरिने अवार्डको लागि ३÷३ जना खेलाडी तथा प्रशिक्षकको नाम (मंगलबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो ।

वर्ष उत्कृष्ट खेलाडी (पुरुष) तर्फ कमल बहादुर भण्डारी (शारीरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी) मनोनित भएका छन । सोही विधाको (महिला) तर्फ मनोनित हुने खेलाडीहरुमा विमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) रहेकाछन।

वर्ष उत्कृष्ट उदयीमान खेलाडीको मनोनित खेलाडीहरुमा विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर कविता (कबड्डी) र मेगबहादुर सेन (क्रिकेट) रहेकाछन। वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ मनोनित प्रशिक्षकहरुमा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) रहेकाछन।

खेलाडी मनोनयनका लागि पहिलो स्र्पोट्स अवार्डकै विधी लाई निरन्तरता दिंदै कास्कीमा जन्म तथा कर्मथलो बनाएर जिल्ला, क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा क्षेत्रमा योगदान दिएका तथा ख्याती कमाउन सफल खेलाडीहरुलाई मनोनित गरिएको मञ्च कास्कीका अध्यक्ष केशव पाठकले बताए । उत्कृष्ट पुरुष बर्ष खेलाडीलाई उपाधि सहित टिभिएस अपाचे मोटरसाइकल र उक्त विधामा महिला तर्फ टिभिएस विगो स्कुटर प्रदान गरिने भएको छ ।

त्यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा अवार्ड प्राप्त गर्नेलाई जनहि १५ हजार, अवार्डको साथमा सम्मान गरिने भएकोे छ । त्यस्तै, सर्बोत्कृष्ट पुरुष र महिला तथा सर्बोत्कृष्ट उदीयमान खेलाडी र प्रशिक्षकलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान मोवाइल समेत प्रदान गरिने मञ्चले जनाएको छ ।

मञ्च कास्कीले यस वर्षदेखी खेल पर्यटन पत्रकारिता पुरस्कारको बिधालाई समेत समेटेको छ । कास्कीमा रहि ५ वर्षदेखी खेलकुदलाई पर्यटनसँग जोडेर कलम चलाउँदै आएको एक जना पत्रकारलाई हरेक वर्ष नगद १५ हजारसहित दोषल्ला र ताम्रपत्रले पुरस्कृत गर्ने भएको मञ्च कास्कीका सचिव रन्जन अधिकारीले बताए ।

मञ्चले यस वर्ष सर्बोत्कृष्ट उत्कृष्ट खेल संघ बिधामा ब्याडमिन्टन संघ कास्कीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । अवार्ड वितरण समारोहमा संघलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

उक्त अवार्ड वितरण समारोहमा राष्ट्रिय ख्याति कमाउन सफल कर्ण दास, शिव परियार, बिनोद बानियाको प्रस्तु्ती रहने भएको मञ्चले जनाएको छ । मञ्चका उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा उक्त अवार्ड हुने भएको हो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलाडीहरुको प्रोत्साहनको लागि स्पोडर्स अवार्ड आवश्यक भएको बताउदै आवश्यक सहयोग गर्ने जनाए ।

लाइफटाइम अचिभमेन्ट अवार्ड डा. गुरुङलाई

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट डा. विरेन्द्रसिंह गुरुङलाई सम्मान गर्ने भएको छ । पोखरामा हक्की खेल भित्राउन, पोखरामा क्रिकेट र लन टेनिस खेलको विकास र विस्तारमा महत्वपुर्ण भूमिका खेलेका डा. गुरुङलाई मञ्चले सम्मान गर्न लागेको हो ।

खेलकुदको पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान दिएका गुरुङ पोखरा रंगशाला पर्खाल निर्माण समितिका अध्यक्ष, भूतपुर्व खेलाडी मञ्चका पुर्व अध्यक्ष, पोखरामा क्रिकेट मैदान निमार्ण समितिका पुर्व अध्यक्ष हुन। सन् १९४१ मार्च १८ मा तत्कालिन भारत र हाल पाकिस्तानमा पर्ने एबोडाबाद जन्मेका डा. गुरुङ सन १९६७ तिर पोखरा आएका थिए । उनी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख हुन् । पोखरा सभागृहमा हुने उक्त अवर्डा वितरण समारोहको मुख्य प्रायोजकमा बतास ब्रदर्श प्रा.लि रहेकोछ।

अवार्ड सम्पन्न गर्न मञ्चका उपाध्यक्ष दिननाथ बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । गतवर्षसम्म उत्कृष्ट वर्ष खेलाडी महिला र पुरुषलाई जनही नगद २५ हजार प्रदान गरिएको थियो भने उदयीमान खेलाडी, प्रशिक्षक र खेल संघलाई जनही १० हजार प्रदान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्, पोखरा लेखनाथ महानगरपालिका, नेपाल खेलकुद पत्रकार मञ्च, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, नेपाल पर्यटन बोर्ड पोखरा, नेपाल पत्रकार महासंघ कास्की लगायतका रहेका छन् ।