पाेखराकाे मोडलिङ क्षेत्र व्यवसायिक बन्न सकेन


राजाराम पौडेल,पोखरा – नेपालमा मोडलिङसँग सम्बन्धित गतिविधि हुने ठाउँमा पोखरा अग्रपंक्तिमा आउँछ । पोखरामा दैनिकजसो मोडलिङसँग सम्बन्धित गतिविधि भैरहेका हुन्छन् । पोखरा आसपासमा म्युजिक भिडियोदेखि टेलिचलचित्र हुँदै ठूलो पर्दाका चलचित्रको छायांकन नियमितजसो भैरहेको हुन्छ । सुन्दरी प्रतियोगिता तथा फेसन शोको त बाढीनै आएको छ पोखरामा । विभिन्न विज्ञापन, होडिङबोर्ड आदिमा समेत मोडलको आवश्यकता देखिन्छ, तर पनि यहाँको मोडलिङ व्यवसायिक बन्न सकेको छैन ।

मोडलिङसँग सम्बन्धित कार्य गर्न पोखरा बाहिरबाट मोडल बोलाउनुपर्ने बाध्यता हट्न सकेको छैन, बरु बढ्दैछ । हुन त मोडलिङप्रति सबैको दृष्टिकोण एउटै देखिँदैन । मोडल भएपछि शरीरका अंग देखाउनु जरुरी छ । मोडल हुन हट सिन दिनैपर्छ । अलि–अलि अंग प्रदर्शन त गर्नैपर्छ । जीउडाल पनि राम्रो हुनुपर्‍यो भन्ने गलत बुझाइले पनि यो क्षेत्रलाई निरन्तरता दिनेहरूको संख्या कम हुन्छ । मोडलिङको नाममा अंग प्रर्दशन गरेर स्थापित हुन खोज्नेहरूका कारणसमेत यो क्षेत्रप्रतिको बुझाइ सकारात्मक हुन समस्या परेको छ ।

म्युजिक भिडियो निर्देशक अपिल त्रिपाठी पोखरामा हालसम्म स्थापित हुन सफल मोडल हुँदै नभएको बताउँछन् । ‘म त अहिले पोखरामा व्यवसायिक मोडल नै देख्दिनँ, भएकाहरूसँग पनि काम गर्न गार्‍हो छ,’ त्रिपाठी भन्छन्– ‘दुई–तीन वर्ष भैसक्यो, काठमाडौंकै मोडल ल्याएर काम गर्दैछु ।’

६० को दशकदेखि नै पोखरामा मोडलहरूको संख्या पातलिएको हो । एसएलसीपछि रहरले यो क्षेत्रमा आउने अनि व्यवहारले थिचेपछि पलायन हुने रोग अझै व्यवस्थित हुन सकेको छैन । व्रेभ इन्टरटेनमेन्टका संस्थापक विजय क्षेत्री रहर र इच्छा भए पनि निरन्तरता एवं शिक्षाको कमीका कारण पोखरामा मोडलहरूको अभाव हुन थालेको बताउँछन् । नयाँ पुस्तामा मोडलिङप्रति प्रसस्त मोह भए पनि राम्रो प्रशिक्षण र सही सल्लाह नपाउँदा धेरै सम्भावना बोकेका व्यक्ति यो क्षेत्रमा हराइरहेका छन्, –उनले भने ।

रातारात चर्चामा आउन नांगो जीउको तस्बिर खिचाएर र र्‍यापमा हिँडेर पैसा कमाउन खोज्नेहरूले समेत यो क्षेत्रको आकर्षण घटाएका छन् । विगतको तुलनामा मोडलिङमा आउनेहरूको संख्या वृद्घि भए पनि यो क्षेत्रमा निरन्तरता दिनेहरूको संख्या भने एकदमै न्यून रहने गरेको छ । केही वर्षअघि यो क्षेत्रमा आउनेहरूको संख्या कम थियो भने पछिल्लो समयमा प्रविधिको विकाससँगै यसको आकर्षण भने बढेको पाइन्छ, तर निरन्तरता दिने मोडल छदैछैनन् भने हुन्छ । व्यवसायिक रूपमा भन्दा अरूको देखासिकी र रहरका कारण मोडलिङमा प्रवेश गर्नेहरू छन्, जो छोटो समयमै पलायन हुने गरेका छन् । यता मोडलिङमा महिला मोडलहरूको शोषण पनि उत्तिकै छ । मोडलको प्रयोग गरेर लाखौं कमाउने सोचका साथ लागिपरेका व्यक्तिहरूको सिकारमा महिला मोडलहरू पर्ने गरेका छन् । मोडल बन्न योग्यता नपुगेकाहरूले थोरै पारिश्रमिक लिएर काम गर्ने भएका कारण सक्षम मोडलहरूलाई अस्तित्व जोगाउन अप्ठ्यारो परेको छ । यो क्षेत्रमा निरन्तरता दिन कतिपय अवस्थामा पैसा नलिइ पनि काम गर्नुपरेको मोडलहरूको गुनासो छ । आफूले मागेअनुसारको पारिश्रमिक पाउन नसकेको गुनासो नयाँ तथा पुराना सबै मोडलको छ ।

उमेर र परिवर्तित संस्कृतिका कारण पनि सधैंभरि यही क्षेत्रमा निरन्तरता दिन नसक्दासमेत पलायन हुनुपर्ने बाध्यता मोडलहरूको छ । उमेर र जवानी हुँदा मात्र यो पेसा ठीक रहेको र जवानी ढल्कँदै गएपछि भने बाध्यताबस यो पेसाबाट विस्थापित हुनुपर्ने मोडलहरूको गुनासो छ ।

हिजोआज मोडल बन्नेहरूको र बन्न रहर गर्नेहरूको संख्या दिन–प्रतिदिन बढ्दै छ, तर कामको अभावले उनीहरूको अवस्था लथालिङ्ग छ । हजारौं रुपैयाँ खर्च गरेर पनि मोडल बन्न सफल नभएकाहरू यसै हराएका पनि छन् ।

मोडलिङ गरेर पैसा कमाउन सहज छैन । मोडलिङमा पैसा कमाउन बढी क्षमता चाहिन्छ भने क्षमतावानहरू यो क्षेत्रमा आउनै खोज्दैनन् । यता व्यवसायिक मोडलका लागि पर्याप्त अवसरसमेत छैन । साभार : कान्तिपुर साप्ताहिक