एमाओवादी कास्कीको प्रशिक्षण बाबुराम पक्षद्वारा बहिस्कार


सन्देश श्रेष्ठ
पोखरा, २५ साउन-

एकीकृत नेकपा माओवादीको कास्की जिल्ला स्तरीय वैचारिक तथा राजनीतिक अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा भएको छ । कार्यक्रममा एमाओवादीका पोलिट्व्यूरो सदस्य हेमन्तप्रकाश ओलीले प्रशिक्षण दिनुभएको थियो ।

कास्कीका जिल्ला स्तरीय नेतादेखी गाउँ तथा वडा कमिटीसम्मका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले पार्टीमा अहिले देखिएको समस्या चाँडै समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समस्या देखिनु राम्रो हो, अब यसको समाधान पनि निश्कन्छ’ । पार्टीमा नवउदारवादी डकुमेन्ट र बिचार आइरहँदा पनि चुप लागेर बस्दा त्यो पक्ष हावी हुन थालेको उहाँको भनाई थियो । उहाँले अब त्यस्ता बिचारहरुको प्रतिवाद गरेर स्वच्छ माक्र्सवादी सोंचको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

ओलीले माओवादी आन्दोलनलाई ध्वस्त पार्ने षडयन्त्र पहिलेदेखी नै भइरहेको र अहिले त्यो देखिनेगरी आएको बताउनुभयो । उहाँले पार्टी ध्वस्त पार्ने षडयन्त्रकारीहरु अहिले आक्रामक रुपमा आएका कारण पार्टी रक्षात्मक रुपमा बस्न बाध्य भएको बताउनुभयो ।
पार्टीको कार्यदिशा बनेपनि कार्यान्वयन गर्न नदिदा पार्टी अलमलमा परेको र त्यसको फाईदा सत्ता पक्षले लिएको ओलीको आरोप थियो । उहाँले कार्यदिशा कार्यान्वयन गर्न बाबुराम पक्षले नदिएको घुमाउरो पारामा संकेत गर्नुभयो ।

कार्यक्रममा कास्कीका चारै निर्वाचन क्षेत्रका संयोजकहरुले पार्टीको काम र गतिविधी रिपोर्टिङ गरेका थिए । रिपोर्टिङका क्रममा पूर्व सभासद तथा एमाओवादी नेतृ दुर्गा परियारले प्रचण्ड, वैद्य र बाबुरामका परिवारका सदस्य सहिद, घाईते, अपाङ्ग वा बेपत्ता भईदिएको भए पार्टी फुट्दैनथ्यो कि ? भन्दा हलमा गडगडाहट ताली बजेको थियो ।
एमाओवादी कास्कीको आयोजनामा गरिएको जिल्ला भेला बाबुराम पक्षले भने बहिस्कार गरेको थियो । केन्द्र तथा कास्की नेतृत्वमै पनि विवाद चर्किएको बेला गरिएको प्रशिक्षण बाबुराम पक्षले बहिस्कार गरेको हो ।
कार्यक्रम एमाओवादीका अध्यक्ष दीपक कोईराला ‘रुपक’को अध्यक्षतामा भएको थियो ।