आज रक्षाबन्धन एवम् जनैपूर्णिमा मनाइँदै


काठमाडौँ साउन २५ –

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जे चिजले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

Janai

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले “येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा चलमा चल” भनी रक्षासूत्र रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिने परम्परा छ ।
आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परासमेत छ । यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने गरिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् । जौतिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूर्णिमासमेत भनिन्छ ।
वैदिक गुरु परम्पराको पूर्वीय दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ भने अर्को डोराका तीन शिखालाई कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ । आजकै दिन शरीर शुद्ध गरी देवता, सप्तर्षि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषितर्पणीसमेत भन्ने गरिएको हो । विशेषतः आजको दिन सप्तर्षिलाई तर्पण दिने गरिन्छ ।
आजका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाने परम्परासमेत रहेको छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाभरि खेतीपातीको काम गर्दा शरिरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता समेत रही आएको छ ।  तराईक्षेत्रमा भने रक्षाबन्धन पर्व दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने गरिन्छ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने धार्मिक विश्वास छ ।
आजको दिन काठमाडाँैको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ््गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा समेत मेला लाग्छ । आजको दिनलाई नेवारी समुदायले भने गुन्हु पुन्ही भनी मनाउने गर्छन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ ।
बौद्ध धर्माबलम्बीले भने आजको दिनलाई भगवान गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्छन् । बौद्ध धर्मग्रन्थ ‘ललित विस्तार’मा यससम्बन्धी विस्तृत रुपमा व्याख्या गरिएको छ । आज स्वयम्भूमा पनि विशेष मेला लाग्छ । रासस