पूर्वपधानसेनापति कटवालको आत्मकथाबाट


मेरो इन्जिनियर बन्ने सपना थियो।म पब्लिक साइन्स कलेज भर्ना भएँ, जुन पछि नाम फेरिएर अमृत साइन्स कलेज (अस्कल) भयो।

त्यसबेला एसएलसीपछि नै डाक्टर, इन्जिनियर, एग्रिकल्चर, फरेस्ट्रीको प्लान पाइन्थ्यो। प्लान पाइयो भने ठिकै छ, नत्र आइएस्सी गरेर इन्जिनियरिङ पढ्ने योजना बनाएँ। आइएस्सी पढुञ्जेल मेरो खर्चको व्यवस्था सरकारले नै गरिदिएको थियो। महाराजाधिराज सरकारको अनुकम्पाबाट म पहाडको केटोले काठमाडौं आएर सुखसयलमा पढ्ने मौका पाएको थिएँ।

हरेक महिना शिक्षा मन्त्रालयबाट १ सय ५० र दरबारबाट ५० रुपैयाँ दिने निर्णय भएको थियो। उतिबेलाको बजार भाउअनुसार त्यो पैसा मनग्गे थियो। समस्या के भने, शिक्षा मन्त्रालयले दिने छात्रवृत्ति समयमा नआएर तीन महिना खप्टिसकेको थियो। कलेज भर्ना भएपछि बल्ल बाँकी रहेको ४ सय ५० रुपैयाँ एकैचोटि हात पर्‍यो।

मलाई चुमुकचुमुक हुन थालिहाल्यो– कहाँ खर्च गरौं, कसरी सकौं। मैले थैली रित्याएर एकजोर नामी सुट हालेँ। खल्ती र डेराको व्यवहार अघिपछिजस्तै अभावको अन्धकारमा हेलियो। म भने नयाँ सुट लगाएर न्युरोड घुम्नमै रमाउन थालेँ।त्यही बेला शिक्षा मन्त्रालयबाट सालभरको लुगाका लागि छुट्ट्याएको ३ सय ५० रुपैयाँ आयो। मैले ज्याकेट सिलाउने निधो गरेँ। त्यो पनि सामान्य टेलरमा हैन, त्यतिबेलाको नामी जुजुभाइ टेलर, खिचापोखरीमा।

बाहिर ठाँट्टिएर हिँडे पनि घरभित्रको व्यथा अर्कै थियो। महिनाको २५ रुपैयाँ डेरा भाडा तिर्नुपथ्र्यो। होटलमा भात खाँदा महिनावारी ४० रुपैयाँ पथ्र्यो। लुगाफाटोमा फुर्मास गर्दा मलाई बिहान–बेलुकाको गर्जो टार्नै धौधौ हुन थाल्यो।

गाउँमा कोइराला गुरु भन्नुहुन्थ्यो, ‘कागको जस्तो चेष्टा, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा, घर छाड्नु र थोरै खानु विद्यार्थीका पाँच लक्षण हुन्।’घर त मैले बालखैमा छाडेँ। मेरा अरू परिस्थिति पनि गुरुका मापदण्डसँग मिल्दाजुल्दा थिए। तर मैले पूरा ध्यान पढाइमा नलगाई अन्तै खर्चिएको थिएँ। आइएस्सीमा सात विषय पढ्नुपथ्र्यो। भाषा, साहित्यमा राम्रो, अरूमा औसत। केमेस्ट्री, फिजिक्स र म्याथमा मेरो जोड पुगेको थिएन।

मीनपचासको बिदा आयो। फिजिक्स, केमेस्ट्री र म्याथमा घोटिने बेला यही थियो। कलेज चलिरहँदा सोचेजति राम्रो गर्न नसकेकाले बिदाको मौकामा सबै कोर्स दोहो¥याउने सोच थियो। त्यही बेला एउटा हल्लाले मन बरालियो।

‘नेपाली फिल्म बन्न लाग्यो रे। हिरो खोजिरहेको छ,’ मातृका शेरचनले खबर ल्यायो।

ऊ त्रिचन्द्र कलेजमा आइएस्सीकै विद्यार्थी थियो। उसले भनेको साँचो रहेछ। पहिलो नेपाली फिल्म बन्न लागेको रहेछ— आमा।

‘पाए हिरो, साइड हिरो, नपाए भिलेन वा केही हुनुपर्छ यार,’ मातृकाले उत्साहित हुँदै भन्यो।

जसरी पनि सिनेमाको पर्दामा देखिने उसको उत्साहले सरुवा रोगजस्तो मलाई पनि छोप्यो। बिदाका लागि बनाएको पढ्ने योजना रद्दीको टोकरीमा गयो।

‘हिरो हुन पाए त खेलै खलाँस,’ म त्यसैत्यसै रोमाञ्चित भएँ, ‘नाममा नाम, दाममा दाम, काममा काम।’ त्यसमाथि हिरोइनसँग संगत गर्न पाइने आस पनि। मैले हिरो बन्न प्रतिस्पर्धामा उत्रने निधो गरेँ। टाइट पाइन्टको जमाना थियो। आफूसँग भएका तीनवटै पाइन्ट धोएँ।गोलको आइरन लगाएँ। भर्खर साँध लगाएको तरबारको जस्तो धार बस्यो। सुट र जुजुभाइकहाँ सिलाएको ज्याकेट छँदै थियो।

यी सबै तयारीबीच हामीलाई हिरो बन्न कहाँ जाने थाहा थिएन। हामी दिनभरि भौंतारियौं, तर फिल्म बनाउने ठाउँ फेला परेन।
तीन दिन त्यसै बित्यो।

चौथो दिन ब्रिटिस काउन्सिलमा अन्तर्वार्ता लिइँदैछ भन्ने सुनियो। हामी रोयल होटल (अहिले निर्वाचन आयोग बसेको बहादुर भवन) अगाडि पुग्यौं। होइन रहेछ। कसैले भन्यो, कलेज अफ एजुकेसन। हामी हान्निएर त्रिपुरेश्वर गेस्ट हाउस पुग्यौं। त्यहाँ पनि होइन रहेछ।

आखिरमा त्यो अफिस फेलै परेन।

हामी चक्कर काटेका काट्यै भयौं, सूचना विभागले हिरो, हिरोइनसहित अरू सबै कलाकार छानिसकेछ। आमाका हिरो शिवशंकर म र मातृकाका लागि सधैं भिलेन नै भए।त्यतिखेर सल्किएको हिरो बन्ने नशा उत्रिन निकै समय लाग्यो। त्यही नशामा धुत्त भएर हिँड्दा फिल्म लाइनकै एक–दुईजनासँग चिनापर्ची भयो। तीमध्ये कसैले आशालाग्दो खबर सुनायो– निजी कम्पनीले फिल्म बनाउँदैछ, माइतीघर।

२०२१ साल अन्त्यतिरको कुरा हो यो। हिरोइन माला सिन्हा भएको थाहा पाएपछि त हिरो बन्ने नशा झ्न् मादक भयो। बलिउडकै नम्बर वान हिरोइनको हिरो बन्न पाए त ! म त्यसैत्यसै उम्लिन थालेँ।
तर, पोखिएँ।

यता फिल्मको हिरो बन्न पाइनँ, उता आइएस्सीको जाँच राम्रो गर्न सकिनँ। राम्रो नतिजा नआए पनि फेलै भइएला भन्ने सोचेको थिइनँ। कुनै विषयको जाँच त्यतिसाह्रो बिग्रेको थिएन। पछि थाहा भयो, प्राक्टिकलमा फेल भएको रहेछु।

लगत्तै ब्याकअप प्लान तयार पारेँ। आइएस्सी दोस्रो वर्ष पढ्दा–पढ्दै आइएको फारम भरेँ। आइए पढ्न मलाई कत्ति गाह्रो भएन। साइन्स कलेज, केटी, सिनेमा, न्युरोडको फन्को, चुरोटको सर्को– यी सबैमा भुक्तमान भएरै आइए कटाउन सकिन्छ भन्नेमा ढुक्कै थिएँ। त्यसमाथि फिजिक्स, केमेस्ट्रीभन्दा साहित्य, इतिहास, राजनीति, दर्शन, संस्कृतिका किताबमा मलाई बढ्ता रुचि लाग्थ्यो।म ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको सदस्य थिएँ। सेक्सपियरका नाटकदेखि म्याकबेथ र चर्चिलका किताब खुब पढेँ।

सेनामा जाने विचार रत्तिभर थिएन, तै लडाकुको किताब भनेपछि हुरुक्क हुन्थेँ।

आइएस्सी राम्रो गर्न नसक्नुकोे अर्को मुख्य कारण पत्रमित्रको सोख हो। त्यतिबेला पत्रमित्र बनाउने फेसन नै थियो। प्रायः पत्रिकामा पत्रमित्र बन्न चाहनेको तस्बिर, नाम, थर, ठेगाना, पढाइ, लेखाइसहितको पातो नै हुन्थ्यो। टेलिफोन, मोबाइल, इमेल, च्याट, एसएमएस केही नभएको त्यो जमानामा जान÷अञ्जान व्यक्तिसँग सञ्चारको एउटै धागो थियो, चिठीपत्र।

एसएलसीपछिका दुई वर्ष मैले झ्न्डै दिनको एउटा पत्र अवश्य लेखेँ हुँला। बर्मा, आसाम, मेघालय, मणिपुर, नागाल्यान्ड, सिक्किम, दार्जिलिङ, देहरादुन, धर्मशाला, भाक्सोसम्म मेरा पत्रमित्र थिए। भन्नै परेन, पत्रमित्रमा मेरो रुचि केटीहरूमै थियो।

चिठी आदानप्रदान बढ्दै गएपछि कतिले त मलाई घुम्न पनि डाके। ‘आइएस्सी जाँच दिएपछि आउँला,’ म यस्तै उत्तर दिन्थेँ।

आइएस्सी दोस्रो वर्ष सकिएपछि शिक्षा मन्त्रालय र दरबारबाट पाइने छात्रवृत्ति बन्द भयो। रोजगार थिएन। बेखर्ची हुनुपर्ने बेला सित्तैमा बस्नखान पाइन्छ भने घुम्न हिँड्नुमै फाइदा लाग्यो। मैले भारतको उत्तरपूर्वी राज्यका पत्रमित्रहरूलाई भेट्न जाने निधो गरेँ। त्यतिबेलाको ग्रेटर आसाम, मेघालयबाट मेरो यात्रा सुरु भयो।

नेपालभन्दा प्रवासको समाज खुला थियो। सिलोङकी एक केटी साथीले आफ्नै घरमा राखिन्। कन्याका दिदीबहिनीले हुल बाँधेर मलाई हिल स्टेसन घुमाए। असाध्यै सफा, सुन्दर र विकसित पहाडी सहर रहेछ सिलोङ। उनीहरूले मलाई संसारको सबैभन्दा बढी पानी पर्ने चेरापुन्जी लगे। गुवाहाटीमा रहेको मामाघर पनि पुर्‍याए।

सिलोङको खातिरदारीपछि म मणिपुर लागेँ। उस्तै फरासिला मान्छे, उस्तै अतिथि सत्कार। नागाल्यान्ड घुमेर त्यहाँबाट आसाम गएँ। भेषभुषा, भाषा, संस्कृति सबै यहाँको पहाडजस्तै।
रेडियोमा सधैंजसो बजिरहने अरुणा लामाको गीतले मलाई पहाडकी रानी दार्जिलिङ हेर्ने साइत पनि जुराइदियो। म उहाँको फ्यान थिएँ। यति नजिक आइपुगेपछि नभेटी जान्नँ भनेर अठोट गरेँ। भगवानमाथि भक्तको, कलाकारमाथि फ्यानको हक लाग्छ ! म सिक्किमबाट टिष्टा तरेर दार्जिलिङ उक्लेँ।

उहाँले मलाई घरकै पाहुना बनाएर राख्नुभयो। उहाँको घर आफैंमा एउटा कला मन्दिर रहेछ। घरका जहान सबै गीत–संगीतमा मग्न। बेलुकी सधैं संगीत मेहफिल जम्ने। उस्तादहरू हारमोनियम, तबला, सितार बजाउन आउने। त्यसमाथि उहाँको मन्त्रमुग्ध स्वर। मलाई अरू के चाहियो !

अरुणा लामासँग बिताएका ती केही दिन मेरो जिन्दगीकै यादगार क्षण हुन्।

असनबहालको हाम्रो डेरा विश्वविद्यालयको होस्टलजस्तो थियो। झपाका लोकराज बरालदेखि इलामका प्रेमबहादुर प्रधानसम्म त्यही घरमा बस्थे। बराल कीर्तिपुरमा एमए राजनीतिशास्त्र पढ्नुहुन्थ्यो। घरभरि बिए, आइए सबै तहका विद्यार्थी थिए।

भारत भ्रमणमा निस्कनुअघि नै प्रेमसँग मेरो कुरा भएको थियो। मैले उसलाई आफ्नो योजना सुनाएको थिएँ।

‘दार्जिलिङ आउँदा खुरुक्क मेरो घर आउनू,’ उसले भनेको थियो, ‘बसौंला, खाउँला।’ इलाम मज्जाले घुमाइदिने लोभ पनि देखाएको थियो। म उसको निम्तो मान्न दार्जिलिङबाट इलामको आइतबारे झ्रेँ।प्रेमको बुवा मोहनबहादुर गाउँकै गन्यमान्यमा पर्नुहुन्थ्यो। म जाँदा उहाँ स्वर्गीय भइसक्नुभएको थियो।

‘मुखियाबाले मान्छे कुटे, काटे पनि हुन्थ्यो,’ गाउँलेहरू उहाँको रवाफ सम्झ्ँदै भन्थे। त्यहीबेला आइतबारेनजिकै करफोक हाइस्कुलका अंग्रेजी शिक्षक १५ दिने छुट्टीमा दार्जिलिङ गएछन्। उनी नफर्किउञ्जेल शिक्षक बन्दोबस्त गर्ने जिम्मा प्रेमको परिवारलाई आइपरेछ। प्रेमले धक्कु लगाएछ, ‘रुकमाङ्गदको अंग्रेजी गज्जबै छ।’

त्यसपछि के चाहियो ! कक्षा ९ र १० का विद्यार्थीलाई अंग्रेजी पढाउने मेरो काम भयो। मैले निकै मेहनत गरेर पढाएँ। रमाइलो त के भने, सबैजसो विद्यार्थी मभन्दा जेठाजस्ता थिए।
हेर्दाहेर्दै १२ दिन बितिहाल्यो। विद्यार्थी, हेडसर, सञ्चालक समिति सबैलाई चित्त बुझ्ेछ। स्कुल नछाड्नू भनेर खुरुन्धार गरे।

ख्यालख्यालमा पढाउन थालेको साँच्चै पर्लाजस्तो भयो ! मलाई भने उनीहरूको चित्त बुझउन गाउँमै बस्ने अवस्था थिएन। हतारहतार हेडसरसित बिदा मागेँ।

काठमाडौं फर्केपछि मेरो दुर्दिन सुरु भयो। छात्रवृत्ति छैन, काम छैन, पढाइ छैन। भएजति सबै पैसा लुगाफाटोमा मासिहालियो। कसैले ऋणधन पत्याउने हैन। राजाको दर्शन भेट गरे केही पाइहालिन्छ कि भनेर धेरैपटक निवेदन हालेँ। भेट हुन सकेन।

खर्च कम होस् भनेर साथीहरूसँग मिलेर बसेको थिएँ। सस्तो डेराको खोजीमा असनबाट गणेशस्थान, नक्साल, ठमेलतिर सरेको स¥यै गरेँ। खर्च जुटाउन घरघरमा बच्चा पढाएँ। एक पेट खान दिएको भरमा होम ट्युसन गरेँ।

यो कष्टले जिन्दगीको सबभन्दा ठूलो पाठ सिकायो– भएको बेला फारो गर्न जान्नुपर्छ।

(नेपालयले यसै साता बजारमा ल्याउन लागेको पूर्वपधानसेनापति कटवालको आत्मकथाबाट)