राष्ट्रिय नाटक महोत्सवको समापनमा समीक्षा र एकल नाटक मञ्चन


पोखरा – नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय नाटक महोत्सव एकल नाटक मञ्चनसँगै बिहीबार समापन भएको छ । सो अवसरमा महोत्सव अवधिभर मञ्चित नाटकको समीक्षा पनि गरिएको थियो ।
पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा भएको महोत्सवमा मञ्चित नाटकहरुको समीक्षामा लेखक गनेस पौडेलले टिकट काटेर आएका दर्शकलाई कलाकारले पूर्ण प्रस्तुति दिनुपर्नेमा जोड दिनुभयो । मुस्कुराउनु र हाँस्नुको भेदमाथि प्रकाश पार्दै पौडेलले नाटकले दर्शकलाई मुस्कुराउन प्रेरित गर्न सक्नुपर्ने बताउनुभयो । महोत्सवमा मञ्चित केही नाटक प्राविधिक दृष्टिले ठीकै लागे पनि धेरैले सुधार गर्नुपर्ने निष्कर्षले उहाँले प्रस्तुत गर्नुभयो ।

अर्का वक्ता डा. सचिन घिमिरेले नाट्य परम्परामा परिवर्तन गर्न नसकिएकोप्रति नाट्यकर्मीहरुको ध्यानाकर्षण गराउनुभयो । ‘राजतन्त्र फ्याँक्न ठूलो सङ्घर्ष गरियो तर आजका नाटकमा पनि राजतन्त्रकै अवशेष देखिनु नेपाली नाटकको यथास्थितिवाद हो’ घिमिरेले भन्नुभयो, ‘हाम्रा नाटकहरु प्रगतिका नाममा सक्रियतावादबाट माथि उठ्नु जरुरी छ ।’ महोत्सवमा मञ्चित नाटकमध्ये केहीमा आधारभूत र केहीमा उच्चस्तरका कमजोरी भए पनि यत्तिको महोत्सव हुनु सकारात्मक भएको घिमिरेको भनाइ थियो ।


कलाकार प्रकाश घिमिरेले सीमित स्रोत र साधनका बाबजुद पनि नेपाली रङ्गकर्मीहरुले गरेको प्रयास प्रशंसनीय रहेको भनाइ राख्नुभयो । पोखरा पनि नाटकका लागि उत्कृष्ट थलो बन्न सक्छ भन्ने प्रमाण महोत्सवमा ४ ओटा पोखराको मात्रै नाटक मञ्चन हुनुले प्रमाणित गरेको उहाँले दाबी गर्नुभयो।

समीक्षात्मक बहसको सहजीकरण ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले गर्नुभएको थियो ।
प्रतिष्ठानका कुलपति सरुभक्तले प्रतिष्ठानले आगामी दिनमा अझै व्यवस्थित ढङ्गले महोत्सव आयोजना गर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय नाटक महोत्सवमा पुग्न सक्ने नाटकहरु यही ठाउँबाट उत्पादन हुने विश्वास सरुभक्तको थियो । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पोखरामा नाट्य संस्कृतिको विकासमा महोत्सवले टेवा दिने विश्वास व्यक्त गर्नुभयो । थिएटरलाई निरन्तरता दिन सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । सञ्चारकर्मी रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा महोत्सवका संयोजक पुष्कर गुरुङले महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।
सोही अवसरमा प्रियङ्का झाको लेखन, निर्देशन र एकल अभिनय रहेको मैथिली भाषाको नाटक ‘कथा नही भेटल’ मञ्चन गरिएको छ । महोत्सवको तालिकाबाहिरको विशेष प्रस्तुतिका रुपमा मञ्चित नाटकलाई दर्शकले निकै मन पराएका थिए ।