नेपाल ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशन बुधबार हुने


पोखरा –  नेपाल ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशन कास्की सहितका देशभरका ७७ जिल्लामा भोलि (बुधबार) एकै दिनमा हुुने भएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका बरिष्ठ केन्द्रिय उपाध्यक्ष राम्जी कुंवरले कास्की सहितका ७७ जिल्लामा बुधबार जिल्ला अधिवेसन हुने बताए ।

उनका अनुसार चैत्र ३० गते प्रदेश अधिवेसन, वैशाख १८ १९ र २० मा केन्द्रिय अधिवेसन हुने छ । नेपाली कांग्रेस निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन कांग्रेसले बुधबार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशनको तयारी गरेको हो । कास्की जिल्लामा रहेको ६ हजार १ सय ५९ जना सदस्य रहेको संगठनमा कास्कीबाट सदस्य संख्याको आधारमा २ सय ६२ जना प्रतिनिधि चयन भएको नेपाल ट्रेड युनियन कांग्रेस कास्की जिल्ला अध्यक्ष कुलदेवी बरालले बताईन।

“श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्र शक्ति हो” भन्ने नारा दिँदै छैटौं अधिवेशनको तयारी पुरा भएको अधिवेशन तयारी समितिका संयोजक एवं नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका उपाध्यक्ष घनश्याम रेग्मीले बताए । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीमा विभिन्न १६ प्रतिष्ठान आवद्ध रहेको छ । नेपाल ट्रेड युनियन कांग्रेसले नेपाली श्रमिकले न्यूनतम पारिश्रमिक, नियुक्तिपत्र, स्वास्थ्य बिमा, सञ्चयकोष सुविधा, कपडा भत्ता जस्ता आधारभूत सेवा समेत नपाएको अवस्थामा सरकारले त्यस तर्फ ध्यान नदिएको गुनासो गरेको छ । कर्मचारी तन्त्र, राजनीतिक दलका कारणले गर्दा अझै पनि मजदुरहरुले पाउनुपर्ने न्यूनतम ज्याला ९ हजार ७ रुपैया तलव नपाएको उपाध्यक्ष कुंवरले दाबी गरे ।

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीमा नेपाल शिक्षक संघ, नेपाल कारखाना श्रमिक संघ, नेपाल यातायात मजदुर संघ, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, नेपाल व्यापार तथा सम्वद्ध श्रमिक संघ, नेपाल छापाखाना तथा सम्वद्ध श्रमिक संघ, नेपाल नाई संघ, नेपाल गृह श्रमिक संघ, नेपाल ब्युटिसियन श्रमिक संघ, नेपाल इम्ब्रोइडरी हेल्थ तथा सीप बुनाई श्रमिक संघ, नेपाल प्रेस युनियन, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ, नेपाल कृषि श्रमिक संघ आवद्ध रहेको जिल्ला सचिव केशव भट्टराईले बताए ।