एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने


काठमाण्डौ – एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने सांगठनिक संरचनामा सहमति गरेको हो । दुवै पार्टीका नेताको व्यवस्थापन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने सहमतिसमेत भएको छ ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

परिषद्लाई महाधिवेशनअगावै नेतृत्व फेर्नेदेखि विधान परिवर्तन गर्नेसम्मको अधिकार रहने छ । दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनअघिसम्म दुवै पार्टीका नेता व्यवस्थापनका लागि मात्र कार्यदलमा परिषद् बनाउने समझदारी भएको हो ।

‘कार्यदलमा एकीकृत पार्टीको तहगत सांगठनिक संरचनामा समझदारी भएको छ,’ एमाले सचिव गोकर्ण विष्टले भने, ‘केन्द्रमा राष्ट्रिय प्रतिनिधि परिषद्समेत राख्ने गरी एकीकृत पार्टीको सांगठनिक संरचना निर्माण हुनेछ ।’ उनले केन्द्रीय कमिटीभन्दा तल र प्रदेश संगठनभन्दा माथि राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने समझदारी भएको बताए । कम्युनिस्ट पार्टीमा महाधिवेशनपछि परिषद्लाई शक्तिशाली निकाय मानिन्छ ।

विधान मस्यौदा कार्यदलले सबै विषय टुंगो लगाएर केन्द्रीय कमिटीसहित तल्ला तहसमेतको संख्या टुंग्याउने जिम्मेवारी पार्टी एकता संयोजन समितिलाई नै दिने तयारी गरेको छ । कार्यदलका एक सदस्यका अनुसार संख्याको टुंगो कार्यदलबाट लाग्ने सम्भावना नरहेका कारण दुवै पार्टी अध्यक्षको चाहनाबमोजिम संयोजन समितिलाई नै अन्तिम टुंगो लगाउने जिम्मेवारी दिन लागिएको हो ।

एकीकृत पार्टीमा प्रवास कमिटी नबनाउने समझदारी भएको छ । दुवै पार्टीका अहिले क्रियाशील संगठनहरूलाई शुभेच्छुक संगठन मान्ने, तर कमिटीको हैसियत नदिने समझदारी भएको हो । एमालेको प्रवासी नेपाली संघ भारत र माओवादी केन्द्रको अखिल नेपाल प्रवासी संगठन भारत छ भने खाडी राष्ट्र, युरोप, अमेरिकालगायतका धेरै मुलुकमा प्रवासी संगठनहरू छन् ।

एमालेले नवौँ महाधिवेशनबाटै प्रवासमा कमिटी नबनाउने निर्णय गरेको थियो । यद्यपि, विदेशमा रहेका संगठन चलाउन एमालेले इन्चार्ज तोकेको छ । तर, माओवादीले भने सांगठनिक हैसियत नै दिएर प्रवासमा कमिटी चलाउँदै आएको छ ।

कार्यदलमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय कमिटीहरू कार्यकारी हुने समझदारी भएको छ । केन्द्रीय कमिटीभन्दा तल प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका, वडा र प्रारम्भिक कमिटी रहने र केन्द्रीय कमिटीभित्र स्थायी समिति र पोलिटब्युरो अंगका रूपमा रहने गरी प्रस्ताव गरिएको छ । केन्द्रमा सहअध्यक्षका रूपमा दुवै पार्टीका अध्यक्षले नेतृत्व गर्ने, तर पदाधिकारी नरहने, प्रदेश र स्थानीय कमिटीहरूमा पदाधिकारी रहने तर दुईजना राख्ने कि चारजना भन्ने सहमति भएको छैन ।

कार्यदलमा जनसंगठन एकता, जिल्ला र त्यसभन्दा तलका कमिटीहरूको एकतासम्बन्धी मोडालिटी पनि टुंगो लाग्न बाँकी छ । जनसंगठन एकता गर्दा कुन संगठनको नेतृत्व कसले लिने भन्ने बाँडफाँट गर्ने तथा तलका कमिटीहरू कसरी मिलाउने, जिल्लाभन्दा तलका कमिटीहरूले कसरी कार्यसम्पादन गर्नेलगायतका विषय टुंगो लाग्न बाँकी रहेको एक नेताले बताए ।

कार्यदलमा एमालेबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ, माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा र मातृका यादव छन् ।

कार्यदलले केन्द्र र प्रदेशमा केन्द्रीय अनुशासन, निर्वाचन आयोग र केन्द्रीय लेखा आयोग रहने अन्तरिम विधानमा समझदारी भएको छ । केन्द्रीय विभागहरू राख्ने मोटामोटी समझदारी भए पनि नियमावलीबाट व्यवस्थित गर्ने दुवै दलको तयारी छ ।

कार्यदलले १५ गतेभित्र संगठन र विधानसम्बन्धी प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने गरी छलफल चलाइरहेको छ । मंगलबार र बुधबार पनि लगातार छलफल हुने एमाले सचिव विष्टले बताए । ‘मंगलबार ५ बजे पनि बैठक बस्छ, लगातार छलफल गरेर तीन दिनभित्र सबै टुंगो लगाउँछौँ,’ उनले भने ।

यस्ता छन् दश तहका कमिटी

कार्यदलले मूल नेतृत्वसहित संघीय संरचनाअनुसार १० तहको एकीकृत पार्टीको सांगठनिक स्वरूप र तहगत संरचना बनाउने समझदारी गरेको छ । जसअनुसार पार्टीको नेतृत्व एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सहअध्यक्षका रूपमा आलोपालो प्रणालीबाट गर्नेछन् ।

सबैभन्दा माथि स्थायी समिति हुनेछ । त्यसपछि क्रमशः पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगर/उपमहानगर/नगर कमिटी/गाउँपालिका कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीसहित १० वटा तहगत संरचनाको कमिटी बन्ने मोटामोटी टुंगो लागेको छ ।