पार्टी एकता गरेर मात्रै भारत भ्रमणमा निस्किने ओलिको योजना


काठमाण्डौ – प्रधानमन्त्री केपी ओलीले पार्टी एकता गरेर मात्रै भारत भ्रमणमा निस्किने योजना बनाएका छन् । प्रधानमन्त्रीको योजनाअनुसार नै एकताका बाँकी काम टुंग्याउन सम्बन्धित दुई कार्यदलले तयारी तीव्र बनाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रधानमन्त्री ओली २३ चैतमा भारत भ्रमणमा निस्किने चर्चा चले पनि औपचारिक मिति तय भएको छैन । यता पार्टी एकता २५ चैतभित्र गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

‘सकेसम्म २५ चैतभित्रै एकता टुंग्याउने तयारी भइरहेको छ, दुवै पार्टीका सबै नेताहरू ढिला नगर्ने मुडमा हुनुहुन्छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने, ‘कुनै विषय अल्झिएन, जिज्ञासा कायम रहिरहेकै कारण समय लियो भने मात्र अन्यथा हुन सक्छ नत्र ०७४ नकटाउने लक्ष्यका साथ काम भइरहेको छ ।’

उनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै एकता टुंग्याउने योजनाभन्दा पनि छिटो टुंग्याउने मुडका साथ नेताहरूले गृहकार्य गरिरहेको बताए । ‘कुनै तिथिमिति कुरिराख्ने भन्ने छैन, दुवै पार्टीका सिनियर नेताहरूबीच दिनहुँ छलफल र भेटघाट चलिरहेको छ,’ रिमालले भने, ‘कार्यदलका नेताहरूले पनि प्रधानमन्त्रीज्यूलाई आवश्यकताअनुसार ब्रिफिङ गरिरहनुभएको छ ।’

यसअघि विधान मस्यौदा कार्यदलमा कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन अर्थात् ९ वैशाख (२२ अप्रिल)मा पार्टी एकता घोषणासभा गर्ने समझदारी भएको थियो ।

तर, प्रधानमन्त्रीले भारत भ्रमणअगावै एकता गर्ने चाहना राखेपछि कार्यदलले तयारी तीव्र पारिरहेको छ । तर, भ्रमणअगावै कुनै विषयका कारण एकता लम्बिए ९ वैशाखमै धुमधामसँग एकता घोषणासभा गर्ने दुवै दलको तयारी छ ।