समयमै विमानस्थलको काम सक्न मेयरको निर्देशन


पोखरा – निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगतिबारे पोखरा लेखनाथ महानगरपालिका मयेर मानबहाुदर जिसीले चाँसो राखेका छन् । मेयर जिसीसहितको एक टोलीले विमानस्थलको निरीक्षण गर्दै कार्यप्रगति बारे बिहीबार जानकारी लिएको हो । टर्मिनल बिल्डिङ र रनवे निमार्ण गर्ने गरी जमीन सम्याउने काम अहिले भइरहेको छ ।

विमानस्थलको निरीणका क्रममा मेयर जिसीले विमानस्थल निर्माणको ठेक्का पाएको चिनिया कम्पनी सिएएमसिइलाई तोकिएको समयमा काम सक्न निर्देशन दिएका छन् । ‘राष्ट्रिय गौरवको आयोजना भएकोले यसमा सबैको चाँसो छ,’ मेयर जिसीले भने,‘ महानगरपालिकाले के सहयोग गर्नुर्पछ, तयार छ, तर काम तोकिएको समयमा हुनु प¥यो ।’ विमानस्थलमा भइरहेको कामको बारेमा जानकारी लिन पुगेको मेयर जिसी सहितको टोलीलाई सिएएमसिईका साइट मेनेजर जुले विमानस्थलमा भइरहेको कामको बारेमा जानकारी गराएका थिए । उनले सन २०१९ सम्ममा रन वे निर्माण गरिसक्ने काम गरिरहेको मयेर जिसीलाई जानकारी गराएका थिए ।

वर्षाको समयमा जमीन सम्याउन अप्ठ्यारो हुने भएकोले त्यति बेला टर्मिनल बिल्डिङ र रनवे निमार्णको काम सुरु गर्ने गरी जमीन सम्याउने काम भइरहेको ठेकेदार कम्पनी सिएएमसिईका जनसम्पर्क अधिकृत कृष्ण चापागाईंले जानकारी दिए । आयोजनाका अनुसार जेठ सम्म ८० प्रतिशत माटोको काम सकिनेछ । विमानस्थल निमार्णका लागि चिनिया ५० जना प्राविधिक, नेपाली प्राविधिकसहति १ सय जना मजदुर खटिएका छन् ।

विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा चिनिया ठेकेदार कम्पनी सिएएमसिईलाई ठेक्का दिएको थियो । निर्माण गर्ने र निर्धारित समयमा नसके क्षतिपूर्तिसमेत सरकारलाई दिनुपर्ने सर्त भएको इपिसी मोडलमा सिएएमसिईले ठेक्का लिएको हो । निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।

यसैबीच पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले बिहीबार वडा नम्बर ३१ का योजनाकोहरुको पनि अवलोकन गरेका छन् । उक्त वडामा ५४ वटा योजना रहेका छन् । उक्त वडामा ६ मिटर चौडा र साइडमा फुटपाथसहित सडक बनाउन मेयर जिसीले निर्देशन दिएका छन् ।