पर्यटकको बसाइँ लम्ब्याउन टानद्धारा नयाँ पदयात्रा मार्गको खोजी


?

पोखरा – पदयात्राका लागि आउने पर्यटकको बसाइँ लम्ब्याउन ट्रेकिङ एजेन्सिज एशोसिएसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले नयाँ पदयात्रा मार्गको खोजी गरेको छ ।
फेवाताल मुहान पामे, चापाकोट, घडेरी, पलैँचे र भुम्दीकोटसम्म करिब ८ किमी पदयात्रामार्गलाई विकास गरी पर्यटकको बसाइँ लम्ब्याउन लागिपरेको हो । यहाँबाट फेवाताल र हिमश्रृंखला अवलोकन, प्याराग्लाइडिङ गर्दै ग्रामीण रहनसहनमा पर्यटक रमाउन सक्छन् ।
नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको भए पनि पदयात्रामार्गमा मोटरेबल बाटो पुगेपछि पदयात्रा मार्ग संकटमा पर्न थालेका छन् ।छोटो समय लिएर घुम्न आउने र पदयात्रा गर्न चाहने पर्यटकको दुई दिन एक रातको पदयात्रा अविष्मरणीय हुने पश्चिमाञ्चल क्षेत्रीय संघ टानका अध्यक्ष दीपक अधिकारीले बताए । यसलाई हाइकिङको रुपमा विकास गर्न सकिने उनी बताउँछन् ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले पामे, चापाकोट,घडेरी,पलैँचे र भुम्दीकोटसम्म करिब ५ घण्टासम्मको यात्रामा नेपाली संस्कृति, ग्रामीण भेषभुषा र गाउँले जनजीवनसँगै कृषि क्षेत्रमा सहभागी हुन सक्ने बताउँछन् ।
पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले पदयात्रीको संख्या बर्षेनी बढ्दै गए पनि उनीहरुको बसाइँ लम्बाउन पदमार्ग सफल हुने बताए । पोखरामा विमानस्थल निर्माणपछि पर्यटकको आगमन अझै वृद्धि हुनेछ त्यसलाई व्यवस्थापन गर्न पनि यो यात्रा महत्वपूर्ण बन्ने उनको धारणा छ ।
नेपाल आउने पर्यटक पदयात्राका लागि आउने हुँदा सहरको भीडभाड र कोलहालबाट केही समय भए पनि मुक्त हुन र मनोरम एवं शान्त वातावरणमा रम्न सक्ने पर्यटन ब्यवसाथी डम्वर केसिले बताउनु भयो ।
मोटर बाटोको कारण पदयात्रा मार्ग छोट्टिदै जाँदा टान र पर्यटन बोर्डको सहकार्यमा छोटो दुरीको मार्ग पहिचान गरी सञ्चालनमा ल्याउन लागेको टान पोखरा उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक विश्व अधिकारीले बताए ।
यो रुट विगतमा सञ्चालन रहेको भए पनि प्रचार अभावमा ओझेलमा परेको थियो । पछिल्लो समय पदयात्रा मार्ग छोट्टिनु र मोटरबाटोको सुविधाले पदमार्गको महत्व झन् झन् बढ्दै गएको पाइन्छ । हाल यो रुटमा करिब १ हजार भन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेको अधिकारीले जानकारी दिए ।
उक्त मार्गमा करिब १ हजार बढी पर्यटकले यो क्षेत्रमा पदयात्रा गरेका थिए । यो रुट सञ्चालनमा ल्याउन पर्यटन व्यवसायी, पत्रकार लगायत सम्मिलित टोलीले अध्ययन समेत गरेको छ ।यो पदयात्रा फेवाताल पुछार ड्यामसाइडबाट शुरु भइ फेवाताल सिरान पामेसम्म पनि पुग्न सकिने टानका महासचिव सुशील पौडेलले बताए ।

पदयात्रीलाई रात बिताउनका लागि नजिकका होम स्टे उपयुक्त हुन पर्यटन ब्यवसायी सोम थापाले वताए ।
यस क्षेत्रबाट पर्यटकले हिमाल, ताल, पोखरा बजार नजिकैबाट अवलोकन गरी नेपाली ग्रामीण शैलीको संस्कृतिमा रमाउन सक्ने टानका उपाध्यक्ष हरि भुजेलले बताए । टे«किङ रुट जोगाइराख्न सरकारबाट खासै पहल नभएको भन्दै पर्यटन व्यवसायी नै पहिचान भएका रुट जोगाउन र नयाँको पहिचान गर्न लागिपरेका हुन् । पोखरामा साना ठूला गरी करिब ६ सय होटल छन् । ती होटलमा करिब २० हजार वटा बेड छन् ।