गृहमन्त्रीले भने चरी मुठभेटमै मारिएका हुन् , पुलीसले लेखेको पत्र पढेर हुन्न एमाले सभासद- पाण्डे


काठमाडौं,साउन २३-
उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले सदनलाई दिनेश अधिकारी चरी प्रहरीसँगको मुठभेटमै मारिएको जानकारी गराएका छन् ।
चरीको सुनियोजित हत्या भएको भन्दै सत्तारुढ एमाले सभासदहरुले संसदमा हंगामा गरेपछि गौतमले रोष्टममा उपस्थित भएर जवाफ दिएका हुन् ।
‘प्रहरीले गोप्य सूचनाको आधारमा भीमढुंगामा शंका लागि पक्राउ गर्न खोज्दा गोली चलाएपछि जवाफि कारबाहीमा उनी मारिएका हुन्,’ गौतमले भने , ‘निजको मृत्युका बारेमा केन्द्रीय प्रहरीले तथ्य संकलन गरीरहेका छ। विस्तृत्त जानकारी प्राप्त भएपछि सदनलाई जानकारी गराउने छु।’

गृहमन्त्री गौतमले चरी २०६२ सालदेखि विभिन्न अपराधमा संलग्न रहेको र जिल्ला अदालत काठमाडौं तथा जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध गम्भीर फौजदारी मुद्दा चलिरहेको बताए ।
चरी भीमढुंगा हुँदै धादिङतर्फ जान लागेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले पक्राउ गर्दा खोज्दा प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा मारिएको गृहमन्त्रीले बताए । साउन २१ गते साँझ काठमाण्डौ भीमढुगामा दिनेश अधिकारी मारिएको बारेमा प्रहरीबाट प्राप्त जानकारी अनुसार उनी विरुद्ध हातहतियार खरखजाना र जिल्ला अदालतमा फौजदारी अभियोग मुद्दा विचाराधिन छ। हरि काफ्लेसँग रकम माग गरी ज्यान मार्ने लगायतका अन्य उजुरीमा प्रहरीले खोजी गरेको थियो।’ सदनमा बोल्दै गौतमले भने। घटनाबारे गृह मन्त्रालयले समेत विवरण संकलन गरिरहेको उनले बताए ।


यसअघि एमालेकै सभासदहरू राजेन्द्र पाण्डे, गुरूप्रसाद बुर्लाकोटी र गंगालाल तुलाधारले गृहमन्त्रीले चरी हत्याबारे सदनलाई जानकारी गराउन माग गरेका थिए।
‘यसैबीच पुलीसले लेखेर दिएको पत्र गृहमन्त्री पढेको हुनाले हामीलाई मान्य छैन भन्दै एमाले सभासद राजेन्द्र पाण्डेले नियमापत्ति गरेका छन् ।
गौतमले जवाफ दिए पछि एमाले सभासद राजेन्द्र पाण्डेले उठेर समय मागे पनि सभामुखले नियमापत्ति बाहेक टिप्पणी गर्न मिल्दैन भनेपछि उनले यो घटना प्रहरीद्धारा नियोजित रुपमा मारेको घटना भएको भन्दै जवाफप्रति आपत्ति जनाएका थिए।