१०८ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पोखरामा विवध कार्यक्रम


पोखरा – १०८ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । पोखरा र्याली, सम्मान र अन्र्तक्रिया गरेर नारी दिवस मनाइएको हो । “आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण” भन्ने नारा सहित दिवस मनाइएको छ ।

जिल्ला समन्वय समितिका कास्की र महिला तथा बालबालिका कार्यालयले सचेतना र्याली सहित पोखरामा दिवस मनाइयो । पोखराको सृजनाचोकबाट सुरु भएको र्याली जिल्ला समन्वय समितिमा पुगेर औपचारीक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्दै प्रदेश ४ का उपसभामुख सृजना शर्माले महिला कमजोर नभएको बताउदै जस्तोसुकै जिम्मेवारी वहन गर्न तयार रहेको बताइन् । उनले महिलाहरु जानीजानी विभेदमा परिरहेको बताउदै त्यसका लागी महिलाहरु सचेत हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, गैरसरकारी संस्था महासंघका पदमराज पहारी, प्रदेश सांसद प्रभा कोइराला, पुष्पा केसी, गायत्री गुरुङ, लगायतले आआफनो भनाई राखेका थिए ।

यसैवीच एमाले निकटको अखिल नेपाल महिला संघले पनि दिवसमा प्रदेश सांसदको सम्मान र प्रशिक्षण कार्यक्रम गरि मनाएको छ । पार्टी कार्यालय शान्ति वनबाटिकामा आयोजित कार्यक्रममा प्रदेश ४ का सासंदलाई सम्मान र आमाको नागरिकता प्राप्तिका बारेमा अनेमसंघ आवद्धलाई प्रशिक्षण दिएर मनाएको हो । अनेमसंघ अध्यक्ष एवं पोखरा लेखनाथ महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सांसद एवं एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बोलेका थिए ।