ल्वाङ्गघलेल गाविसको बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न


पोखरा, २३ साउन

कास्कीको ल्वाङ्गघलेल गाउँ विकास समितिले गत आर्थिक बर्ष २०७०÷७१ को बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई गरेको छ । गाविसले गतबर्ष सम्पन्न गरेका योजनाहरु र सेवा प्रवाहका बारेमा समिक्षा तथा सार्वजनिक सुनुवाई गरेको हो ।

कार्यक्रममा सेवाग्राही नागरिकले गाविसले नागरिकहरुसँग समन्वय नै नगरी बजेट खर्च गर्ने गरेको गुनासो गरेका छन् । गाविसले गत बर्ष कार्यक्रम सञ्चालन गर्न विनियोजन गरेको रकम खर्च हुन नसकेपछि राजनीतिक दलको सहमतिमा गाविसको तल्ला थप गर्ने निर्णय गरेर काम पनि शुरु भैसकेको छ । खर्च हुन नसकेको ६ लाख ६५ हजार रुपैयाँ रुपैयाँ, फ्रिज गर्नु भन्दा गाविसको तला थप गरेको गाविस सचिव गेदुराम ढकालले जानकारी दिनुभयो ।

गत आर्थिक बर्षमा ७५ लाख रुपैयाँ कार्यान्वयन गरेको ल्वाङघलेल गाउँ विकास समितिमा केही योजनामा सम्झौता नभएको भएपनि अन्य योजनाहरु भने सम्पन्न भैसकेको गाविस सचिव ढकालले बताउनुभयो ।

यसैगरी गण्डकी हाईड्रोपावरले बार्षिक रुपमा दिने भनेको ३ लाख रुपैयाँ २ बर्षदेखि गाविसमा आउन नसकेको बिषयमा पनि सेवाग्राही नागरिकहरुले गुनासो गरेका थिए । यो बिषयमा भने तत्कालै एउटा समिति बनाएर दशैँसम्ममा हाईड्रोपावरलाई गाविसको खातामा रकम दाखिला गर्न दवाव दिने गाविस सचिव गेदुराम ढकालले बताउनुभयो । आफुँ गाविस सचिव भएर गएपछि पटक पटक गण्डकी हाईड्रोपावरमा रकम दाखिलाका लागि आग्रह गरेको ढकालको भनाई थियो ।