कोइराला सक्रिय नभएपछि नेता सिंहलाई अपेक्षाभन्दा कम भोट खस्यो


काठमाण्डौ – पौडेल पक्षका नेता भएर पनि महामन्त्री डा. शशांक कोइराला दलको नेता चयन प्रक्रियामा सक्रिय नभएपछि नेता सिंहलाई अपेक्षाभन्दा कम भोट खसेको कांग्रेसभित्र चर्चा छ। निर्वाचित पदाधिकारी र प्रभावशाली नेता भएर पनि सिंहको प्रस्तावक नबन्दैदेखि कोइरालाको निष्क्रियताप्रति शंका गरिएको थियो । कोइराला सिंहको प्रस्तावक पनि बसेनन्, उम्मेदवारी दर्ताको प्रक्रियामा पनि सहभागी भएनन् । तर, सोमबार दलको नेता चयनका लागि भोट हाल्न भने पुगे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

आफूले प्रभाव पार्न सक्ने केही भोटका लागि पनि कोइरालाले पहल नगरेको चर्चा कांग्रेसभित्र छ । उद्योगी विनोद चौधरी, सत्यनारायण खनाल र कर्मा घलेको भाग देउवातिर जानबाट शशांकले रोक्न नसकेको आरोप पौडेल पक्षका नेताले लगाउन थालेका छन् । पौडेल पक्षका डा. मिनेन्द्र रिजाल र डा. नारायण खड्कालेसमेत देउवालाई भोट हालेको चर्चा कांग्रेसमा छ ।

पौडेल पक्षका नेता दिलेन्द्रप्रसाद बडु केही सांसदले विकल्पको कुरा गरे पनि कुनै अवसर पाउने आशामा सभापतिलाई नै भोट हालेको हुन सक्ने बताउँछन् । ‘सभापतिको विकल्पको कुरा पनि उठेका थिए । तर, सभापति नै उठ्दा विकल्पमा दिनुभन्दा अवसर पाउन सकिन्छ भन्ने केहीमा देखियो’ बडुले नयाँ पत्रिकासित भने, ‘यसले पनि केही भोट फरक परेको हुन सक्छ । तर, कसले कता हाल्यो भन्न सकिन्न ।’

सर्वसम्मत भएको भए महामन्त्री कोइरालाले आफैँ दलको नेतामा अघि बढ्ने तयारी गरेका थिए । तर, देउवाले नछाड्ने भएपछि उनलाई सर्वसम्मत हुन नदिन पौडेल पक्षले सिंहलाई अघि सारेको हो । तर, पनि अपेक्षित मत यो पक्षले ल्याउन सकेन । पछिल्लो समय सिटौला पक्ष देउवासँग असन्तुष्ट भएपछि पौडेल पक्षले सिटौला पक्षका भीमसेनदास प्रधानबाहेक दुई मत र देउवा पक्षकै केही मत तान्न सक्ने अपेक्षा गरेको थियो । तर, उनीहरूले सोचेभन्दा भिन्न परिणाम आयो । एक नेता देउवा खेमामै गए ।

प्रमुख सचेतक, सचेतक र समितिमा सभापति बन्न पाउने आशासमेतले सांसदहरूले भोट क्रस गरेको एक केन्द्रीय नेता बताउँछन् । शशांक उठेका भए देउवाले ३६ र शशांकले २७ मत ल्याउने अनुमान थियो । तर, शशांक अघि नबढ्दा र सक्रिय नहुँदा देउवा झनै हाबी भएका हुन् । पौडेल पक्षकै नेता बडु महामन्त्री कुनै पक्ष र विपक्षमा नलागेको बताउँछन् । ‘महामन्त्रीले पक्ष र विपक्षमा लागेर सक्रिय हुन्न भन्दै आउनुभएको छ’ उनले भने, ‘उहाँले एक ठाउँमा भोट हाल्नुभयो होला, तर पक्ष र विपक्षमा नखुल्नुभएको हो ।’ १३औँ महाधिवेशनबाट सभापतिमा देउवा र महामन्त्रीमा शशांक निर्वाचित भएदेखि नै यी दुई नेताबीच खासै विवाद छैन । पार्टी सञ्चालन प्रक्रियामा सभापतिलाई सहयोग नै गर्नुपर्छ भन्ने मान्यता शशांकले राख्दै आएका छन् ।

कांग्रेसमा सिटौला पक्षबाट निर्वाचित तीन सांसद थिए । जसमा भीमसेनदास प्रधान र उमाकान्त चौधरीले देउवालाई भोट दिएका छन् । युवा नेता गगन थापाले भने सिंहलाई भोट हाले । सिटौला पक्षबाट प्रधान र चौधरीलाईसमेत सिंहलाई भोट हाल्न अन्तिमसम्म मनाउन पहल गरिएको थियो । तर, दुवैले देउवालाई भोट हाले । प्रधान सिंहसँग सधैँ असन्तुष्ट रहँदै आएका नेता हुन् । चौधरीले पनि देउवालाई नै भोट दिए । सभापति र दलको नेता एकै व्यक्ति हुन नहुने भन्दै अडान लिँदै आएका थापाले मात्र सिंहलाई भोट हाले ।

कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले १९ पाए । देउवाले ७० प्रतिशत मत प्राप्त गरे भने रामचन्द्र पौडेल पक्षका सिंहले ३० प्रतिशत मत प्राप्त गरे।