आफू खुसी ब्याजदर बढाउँदा उत्पादनमूलक क्षेत्र तहस नहस


पोखरा – बैंक तथा वित्तिय संस्थाहरुले आफू खुसी ब्याजदर बढाउँदा उत्पादनमूलक क्षेत्र तहस नहस भएकोमा उद्योगी÷व्यवसायीहरुले आपत्ति जनाएका छन् । उनीहरुले ब्याजदर घटाउँदै बैंक तथा वित्तिय संस्थाहरुलाई नाफामुखी भन्दा पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

उद्योगी÷ व्यवसायीहरुे बैंकहरुको ब्याजदर बृद्धिबाट उद्योग व्यवसायमा परेको नकरात्मक प्रभावबारे आइतबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थिए । ब्यवसायीले ‘सात प्रतिशतमा लिएको ऋण १४ प्रतिशत पुग्दा बैंकहरुलाई कति नाफा भयो होला ?’,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भन्नुभयो,‘यस्तो अवस्थामा कसरी ब्यापार÷व्यवसाय संभव छ ?’थोरै निक्षेपमा ब्याज बढाउँदा हुने नाफा ठूलो निक्षेपमा बढाएको ब्याजसँग तुलना हुन नसक्ने बताउँदै उहाँले बैंक तथा वित्तिय संस्थाहरुको नियतमै खोट रहेको जिकिर गर्नुभयो ।

बैंकहरुले एकतर्फी रुपले ब्याज बढाउँदा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अनुगमन र कारवाही गर्नु पर्नेमा उहाँको जोड थियो । पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तिय क्षेत्रले एकाएक ब्याजदर बढाएकोबारे सोमबार प्रदेश नम्बर ४ का मुख्यमन्त्री र अर्थमन्त्री तथा फागुन २४ गते प्रधानमन्त्री एवं अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाले बैंकहरुसँग आर्थिक कारोवार गर्नेहरु बैंकर्स हुनै नसक्ने तर्क गर्दै त्यस्ता व्यक्तिलाई कि त व्यवसाय कि बैंकिङ क्षेत्रमा मात्र काम गर्न आग्रह गर्नुभयो । पाँच वर्ष अगाडि लिएको निक्षेपमा ब्याज नबढाउने तर त्यही बेला लिएको कर्जामा चाहिँ ब्याज बढाउनु तर्क संगत नभएको उहाँको भनाई थियो ।

्््््््कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले समस्याको स्थायी समाधानको लागि नयाँ सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा तर्क गर्नुभयो । संघका कार्यसमिति सदस्य प्रेम भुजेलले ब्याजदर बढाएको विषयलाई राष्ट्रियरुपले उठाउनु पर्नेमा जोड दिनुभयो । कार्यसमिति सदस्य नारायण पौडेलले बैंकहरुले गर्ने आफुखुसी निर्णयले बजारमा मूल्यबृद्धि भएको बताउनुभयो ।

गण्डकी धौलागिर पेट्रोलियम डिलर्स व्यवसायी संघका राजन गोंगजुले बैंकहरुको अस्वस्थ प्रतिष्पर्धाले बजारमा अस्थिरता उत्पन्न भएकोले नियन्त्रणको लागि नेपाल राष्ट्र बैंकले पहल गर्नुपर्ने तर्क गर्नुभयो । संघकी कार्यसमिति सदस्य गीता तिवारीले बैंकले चर्को ब्याज लिँदा छापा नमार्ने तर व्यवसायीलाई अनेक प्रकारले दुःख दिने परिपाटीको अत्त्य हुनुपर्ने माग गर्नुभयो । कार्यसमिति सदस्य प्रकाशदेव पालिखेले बचतमा बढी ब्याज दिएर सरकारले उद्यमशीलतालाई मार्न खोजेको आरोप लगाउनुभयो । अर्का कार्यसमिति सदस्य किसान सुनारले अनुत्पादक क्षेत्रको लगानीमा बढी ब्याज र उत्पादनमूलक क्षेत्रलाई कम ब्याज तोकिनु पर्ने बताउनुभयो । ब्यवसायीले समस्या समाधानका लागी प्रधानमन्त्री, मुख्यमन्त्री, अर्थमन्त्री र प्रदेश अर्थमन्त्रीलाई समेत गुहारने समेत बताउनुभएको छ ।