ओली र प्रचण्डले संयुक्त रूपमा आफ्ना सांसदलाई प्रशिक्षण दिने


काठमाण्डौ – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा आफ्ना सांसदलाई प्रशिक्षण दिने भएका छन् ।

ओली र प्रचण्डले आफ्नो पार्टीका सांसदलाई शनिबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रशिक्षण दिन लागेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

एमाले र माओवादी केन्द्रका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यलाई पार्टीको वैचारिक लाइनसँगै संसद्को प्राविधिक पक्षका विषयमा प्रशिक्षण दिने तयारी भइरहेको माओवादी केन्द्रका नेता मात्रिका यादवले बताए । ओली–प्रचण्डले यसअघि निर्वाचनमा चुनावी प्रचारसँगै घोषणापत्र सार्वजनिक गरे पनि सांसदहरूलाई पहिलोपटक प्रशिक्षणसहित निर्देशन दिन लागेका हुन् ।

‘एमाले माओवादी दुवै दलका सांसदलाई प्रशिक्षणमा बोलाइएको छ,’ यादवले नयाँ पत्रिकासँग भने, ‘संसद्मा कसरी प्रस्तुत हुने, शून्य समयमा के गर्ने, बैठकमा एजेन्डाहरू कसरी प्रस्तुत गर्नेलगायत प्राविधिक विषयमा प्रशिक्षण दिने भनिएको छ ।’

प्रशिक्षण विशेष गरी नयाँ सांसदप्रति लक्षित हुने यादवले बताए । नयाँ सांसदलाई संसदीय अभ्यासको ज्ञान कम हुन सक्ने भएकाले यस्तो गरिएको हो । संसद्मा कसरी बस्ने, कसरी बोल्ने, कसरी प्रस्तुत हुनेलगायत सामान्य विषयमा पनि जानकारी दिने जनाइएको छ । प्रतिनिधिसभामा एमालेका १ सय २१ जना, राष्ट्रिय सभामा २७ जना सदस्य छन् । यस्तै, माओवादी केन्द्रका प्रतिनिधिसभामा ५३ जना र राष्ट्रिय सभामा १३ सदस्य छन् ।