राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याउने वा नयाँ पठाउने भन्नेमा निर्णय भएन


काठमाण्डौ – एमालेले आफ्ना भागमा परेको राष्ट्रपतिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने वा नयाँ पठाउने निर्णय गरेको छैन। राष्ट्रपति चुनाव २९ फागुनमा हुँदैछ। प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्‍याउन चाहेका छन्। भण्डारीले पनि दोहोरिने प्रकट/अप्रकट चाहना राखेकी छन्।  आजको अन्नपूर्ण पोष्टमा खबर छ  ।

एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिमा इच्छा व्यक्त गरेका छन्। उनले आफूलाई पार्टीले राष्ट्रपतिमा पठाए जान इच्छुक रहेको सार्वजनिक अभिव्यक्ति नै दिएका छन्। एमालेले राष्ट्रपति दोहोर्‍याए माओवादीले पनि उपराष्ट्रपति दोहोर्‍याउने तर एमालेले राष्ट्रपतिमा नयाँ नाम पठाए पार्टीले पनि अमिक सेरचनको नाम पठाउने तयारी गरेको एक माओवादी नेताले बताए।

एमाले उपमहासचिव घनश्याम भुषाल कसैलाई दोहोर्‍याउने÷नदोहोर्‍याउने कुनै सहमति नभइसकेको बताउँछन्। उनले भित्री र बाहिरी दुवै रूपमा पार्टीगत सहमति नभएको बताए। ‘गुट अनुसारका इन्ट्रेस्ट मुखरित भइरहेका नाम हुन्, अहिले आइरहेका। पार्टीले त्यसरी छलफल गरेको पनि छैन, संस्थागत निर्णय हुन बाँकी नै छ। छिटै निर्णय हुन्छ’, उनले भने। एमालेभित्र अर्थमा र माओवादीभित्र गृहमा धेरै नेता आकांक्षी देखिएका छन्। अर्थमा एमालेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेलदेखि सुरेन्द्र पाण्डेसम्मले रुची देखाएका छन्। माओवादीभित्र गृहमा रामबहादुर थापा, वर्षमान पुनदेखि जर्नादन शर्मासम्म आकांक्षी छन्।