प्रदेश नम्वर ४ को उपसभामुखमा एमाले सांसद सृजना शर्मा निर्वाचित


पोखरा – प्रदेश नम्वर ४ को उपसभामुखमा एमाले सांसद सृजना शर्मा निर्वाचित भएकी छन् । प्रदेश सभाको आइतबार बसेको बैठकले शर्मालाई उपसभामुखमा निर्वाचित गरेको हो। बाम गठबन्धनबाट उम्मेवार बनेकी शर्माले ३८ मत प्राप्त गदै उपसभामुख निर्वाचत भएकी हुन् भने प्रतिस्पर्धी काँग्रेसकी सांसद मनकुमारी गुरुङले १८ मत प्राप्त गरिन् । उपसभामुख शर्मा एमालेबाट समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।

सांसदमा मत विभाजनबाट उपसभामुख निवार्चित गरिएको हो । उपसभामुखमा कांग्रेसबाट गोरखाकी सांसद गुरुङ र राष्ट्रिय जनमोर्चाबाट बागलुङकी सांसद पियारी थापाले उम्मेदावरी दिएका थिए । प्रदेशसभा उपसभामुखमा एमाले सांसद सिर्जना शर्माले बिहान ९ बजे मनोनयन दर्ता गराएकी थिइन् ।

एमाले सांसद मायानाथ अधिकारीको प्रस्ताव र माओवादी प्रदेश ४ का प्रमुख सचेतक गायत्री गुरुङको समर्थनमा शर्माले उपसभामुखमा मनोनयन दर्ता गराएकी हुन् । सभामुखमा उम्मेदवारी दर्ता नगरेको काँग्रेसले उपसभामुखमा भने उम्मेदवारी दिएको हो । बैठकमा ५६ जना सांसदहरु उपस्थित थिए । यसैवीच उपसभामुख शर्मालाई आइतबार नै प्रदेश सभामुख नेत्रनाथ अधिकारीले शपथ गराए । सपथ गराए लगत्तै उपसभामुख शर्माले कार्यभार सम्हालेकी थिइन् ।

सभामुखमा माओवादी केन्द्रका सांसद नेत्रनाथ अधिकारी चयन भएकाले उपसभामुख फरक पार्टी र फरक लिंगका हुनुपर्ने संवैधानिक प्रावधान अनुसार एमालेबाट महिला सांसद शर्मालाई वाम गठबन्धनले समर्थन गरेको हो । एमालेमा उपसभामुखमा सिर्जनासँगै मित्रकुमारी सुवेदी गुरुङ र नरदेवी पुनको पनि आकांक्षा थियो । आइतबार बसेको एमाले संसदीय दलको बैठकले सिर्जनालाई सिफारिस गरेको थियो ।

उपसभामुख निवाचित भएपछि संचारकर्मीसंग कुरा गदै उनले सवैलाई मिलाएर अगाडी बढने बताइन् । उनले प्रदेशको विकास, समाजमा रहेका असमानता र विभेदलाई अन्त्य गर्ने तर्फ आफनो ध्यान केन्द्रीत हुने शर्माले बताइन् । महिलाहरुका पक्षमा कानुन निर्माणका लागी समन्वयकारी भुमिका खेल्ने बताइन् ।