राष्ट्रपतिका लागि झलनाथ खनाल र अमिक शेरचन आकांक्षी


 काठमाण्डौ – निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतासँग सम्बन्धित सैद्धान्तिक–वैचारिक पक्ष, सांगठनिक स्वरूप, सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपतिका उम्मेदवारका विषयमा ‘वन अन वन’ छलफल गरिरहेका छन् । शुरोजंग पाण्डेले आजको नयाँ पत्रिकामा खबर लेखेका छन्।

दुई नेताबीच सीमित छलफलका प्रगति अहिलेसम्म बाहिर आउन नसके पनि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनदेखि आकांक्षी अन्य नेताहरूले विभिन्न तरिकाले आफ्नो उम्मेदवारी र औचित्य प्रकट गर्न थालेका छन् । वाम गठबन्धनबाटै राष्ट्रपति–उपराष्ट्रपति निर्वाचित हुने बढी सम्भावना देखिएकाले कांग्रेस र मधेसकेन्द्रित दलभित्र भने अहिलेसम्म आकांक्षी देखिएका छैनन् । आयोगले २१ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन मिति प्रस्ताव गरेको छ ।

यी हुन् राष्ट्रपति–उपराष्ट्रपतिका आकांक्षी

भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् । भण्डारीले ओली र प्रचण्डसँगको पटक–पटकको भेट र ‘डिनर मिटिङ’मार्फत कूटनीतिक ढंगले दोहोरिने चाहना प्रकट गरेकी छिन् ।

उता खनालले अहिलेकै राष्ट्रपति दोहोरिँदा राम्रो सन्देश नजाने भन्दै घुमाउरो तरिकाले राष्ट्रपति भण्डारीको दोहोरिने चाहनाको विरोध गरेका छन् । उनले गठबन्धनको निर्णयअनुसार आफू जिम्मेवारी लिन तयार रहेको बताइसकेका छन् । माओवादी नेता शेरचनले पनि आफूलाई अघिल्लोपटक नै ‘अफर’ आएको र पार्टी अध्यक्ष प्रचण्डको आग्रहअनुसार जिम्मेवारी लिने मनस्थिति बनाएर बसेको प्रस्ट पारेका छन् । उपराष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनबाहेक अन्य नेताले अहिलेसम्म आकांक्षा राखेका छैनन् । माघको पहिलो साता एमाले अध्यक्ष ओली थाइल्यान्डको बैंककबाट फर्किएलगत्तै उनको निवास बालकोट पुगेर पुनले कूटनीतिक भाषामा दोहोरिने चाहना प्रकट गरेका थिए ।

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले गठबन्धनका प्रमुख नेता ओली र प्रचण्डसँग दोहोरिने चाहना राखेका छन् । राष्ट्रपति सचिवालयका एक सदस्यले भने भण्डारीले अहिलेसम्म त्यसरी औपचारिक रूपमा प्रस्ताव नगरेको दाबी गरे । ‘शिष्टाचार भेटघाटलाई पनि नियोजित ढंगले प्रचार गरेर राष्ट्रप्रमुखको मर्यादा घटाउने खेल भइरहेको छ,’ ती सदस्यले आफ्नो नाम उद्धृत नगर्ने सर्तमा राष्ट्रपतिलाई विवादमा नमुछ्न आग्रह गर्दै भने, ‘उहाँले अहिलेसम्म कोही–कसैसँगको भेटघाट वा छलफलमा दोहोरिने चाहना प्रकट गर्नुभएको छैन ।’

ओली र प्रचण्डनिकट स्रोतले भने राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले संक्रमणकालीन अवधि थोरै भएकाले एक कार्यकाल राष्ट्रप्रमुखमा दोहोरिने चाहना राखेको दाबी गर्‍यो । ‘राष्ट्रप्रमुख र उपप्रमुखजस्तो पद छोटो समयमै फेरिरहँदा राष्ट्रलाई व्ययभार थपिने, भूतपूर्व भइसकेपछि मर्यादाभित्र रहिरहन असहज हुने भन्दै दुवैजनाले दोहोरिने चाहना राख्नुभएको छ,’ स्रोतले भन्यो, ‘कम्तीमा एक कार्यकाल जिम्मेवारी पूरा गर्न पाए हुन्थ्यो भन्ने उहाँहरूको आशय छ ।’ राष्ट्रपतिले धेरै उमेर नभइसकेको र पूर्वराष्ट्रपतिको हैसियतमा राजनीतिमा आउँदा आलोचना हुन सक्ने भएकाले पनि पुनः पाँच वर्षका लागि दोहोरिने चाहना प्रकट गरेको स्रोतको दाबी छ । साढे दुई वर्षअघि राष्ट्रपतिमा निर्वाचित भण्डारी अहिले ५६ वर्षकी भइन् ।