एसकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार तझ्यालाई


पोखरा । मानवअधिकार पत्रकार संघ हुर्जाद्वारा सञ्चालित प्रदेश ४ स्तरिय एसकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार प्रमिला तझ्यालाई अर्पण गरिने भएको छ ।

संस्थाले प्राप्त आवेदनमध्ये उत्कृष्टताका आधारमा तझ्यालाई पुरस्कृत गर्न लागेको संघका अध्यक्ष राजेश पराजुलीले बताए । पुरस्कार विनियमावली निर्माणसहित विभिन्न पत्रपत्रिकामा सूचना प्रकाशन गरी प्रतिभा आह्वान गरेको र प्राप्त २३ आवेदनमध्ये तझ्यालाई चयन गरिएको विनियमावली निर्माण उपसमिति संयोजक असफल गौतमले जानकारी दिए । उक्त पुरस्कारको राशि नगद १५ हजार १५ रुपैयाँ रहेको छ ।

तझ्या २०६१ सालदेखि मानवअधिकारका लागि महिला एकल महिला समुह, महिला आधार बचत तथा ऋण सहकारी सस्था, साथी नेपाल, अस्पतालमार्ग पुरानो धारा टोल विकास संस्थालगायतका विभिन्न संस्थामा आवद्ध भएर काम गर्दै रहेकी छन् ।

पिता जूननारायण श्रेष्ठ र माता सुनमाया श्रेष्ठका कोखबाट २०२५ असार २५ गते जामुनेभञ्याङ्ग तनहुँमा जन्मेकी तझ्या विवाहित एकल महिला हुन् । २०४६ सालको वैशाख २५ गते कृष्णकुमार तझ्यासँग वैवाहिक जीवनमा प्रवेश गरेकी तझ्याका श्रीमानको २०५५ असार १ गते स्वर्गारोहण भएको थियो । पोखरा लेखनाथ महानगरपालिका ११, रानीपौवा बस्दै आएकी तझ्याका एक छोरा र एक छोरी रहेका छन् ।

प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी तझ्या २०५५ सालदेखि पृथ्वीनारायण क्याम्पसमा मूख्य कार्यालय सहायकको रुपमा कार्यरत रहेकी छन् । उक्त पुरस्कार जिसीको ३० औं वार्षिक पुण्यतिथिका अवसरमा जिसीको जन्मस्थल बाटुलेचौरमै वितरण गरिने संघका अध्यक्ष पराजुलीले जानकारी दिए ।

महिलाअधिकारका क्षेत्रमा क्रियाशील एसकुमारी जिसीको स्मृतिमा उनको परिवारद्वारा स्थापित अक्षयकोषबाट दुई–दुई वर्षमा पुरस्कार वितरण गर्ने गरी उक्त पुरस्कार सञ्चालन गरेको संस्थाका निर्देशक कृष्ण अन्जान ज्ञवालीले बताए।

संघले प्राप्त आवेदनका आधारमा योग्य प्रतिभा छनौटका लागि प्राध्यापक साहित्यकार कुञ्जराज थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

एस कुमारी जिसी तत्कालिन महिला तथा बालबालिका मन्त्रालय अन्तर्गतको महिला तथा बालबालिका विकास कार्यालयको अधिकृतका रूपमा स्याङ्जाको वालिङमा कार्यरत रहदा स्वर्गारोहण भएको पुरस्कारका संस्थापक सविन जिसीले बताए ।

स्मरण रहोस्, २०१४ कात्र्तिक १३ गते पोखराको लामाचौर–१९ मा जन्मेकी जिसीको २०४५ फागुन १ गतेका दिन स्वर्गारोहण भएको थियो ।