घैयाखेतमा शिव पुजा, मानार्थ सदस्यलाई सम्मान


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २२ पुम्दी भुम्दी, घैयाखेतमा रहेको ज्योर्तिलिङ शिवालय मन्दिरमा शिवरात्रीको अवसरमा विशेष पुजा गरिनुका सार्थ संस्थापकहरुलाई सम्मान गरिएको छ ।

पुजाका साथै आयोजित सम्मान कार्यक्रमको प्रदेश सांसद राजिव पहारीले उद्घाटन गरेका थिए । उनले घैयाखेत पोखराको वजारबाट नजिकै रहेको र यहाँबाट मिन थुम्कीमा रहेको विश्व शान्ति स्तुप जान छोटो पर्ने भएकोले एशियन पार्कको सम्भावना रहेको वताए ।

सो अवसरमा संस्थापक पं. पुण्यप्रसाद वरालले मन्दिरको चिनारी दिदैं २०४३ सालमा फेवातालको किनार केदारेश्वर महादेव मन्दिर रहेको स्थानबाट शिवलिङ्ग ल्याईएको स्मरण गर्दै त्यस समयमा मन्दिर भग्नावशेष अवस्थामा रहेको र मन्दिरका घण्टीलगाएतका सामान चोरी भई शिवलिङ्गलाई नबिक्ने ढुङ्गो ठानेर छाडिएको अवस्थामा घैयाखेतमा ल्याई पुनःस्थापना गरिएको वताए ।

२०४३ सालमा स्थापना गरिएको शिवालय मन्दिरलाई धार्मिक पर्यटकिय क्षत्रको रुपमा विकास गर्ने भन्दै यसै वर्ष विधिवत दर्ता गरिएको ज्योर्तिलिङ्ग शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज अर्यालले वताए ।

सो अवसरमा मन्दिरका मानार्थ सदस्यहरु पुण्यप्रसाद वराल, बद्रि भारती, र मरणोपरान्त स्वर्गिय देवराज भारती, स्वर्गिय धन वराल, स्वर्गिय मिनबहादुर जिसी, स्वर्गिय हर्कबहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो ।

वडा नं. २२ का अध्यक्ष मित्रलाल वराल, छोरेपाटन माविका प्रधानाध्यापक लक्ष्मण थापा, राजेन्द्र थापा, हरि लम्साललगाएतले शुभकामना व्यक्त गरेका थिए ।

मन्दिरका अध्यक्ष धर्मराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खेमराज वराल (धु्रब)ले धन्यवाद, लक्ष्मी अधिकारीले स्वागत, महासचिव मदन कुमार मैनालीले कार्यक्रम संचालन गरेका थिए ।