शिवरात्रीको अवसरमा केदारेश्वरमा सामूहिक ब्रतबन्ध तथा विविध कार्यक्रम हुने


पोखरा – शिवरात्रीको अवसरमा केदारेश्वर महादेवमणि सेवाश्रममा सामूहिक ब्रतबन्ध तथा विविध कार्यक्रम हुने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केदारेश्वर मन्दिरमा फागुन १ गते जुनसुकै क्षेत्रका व्यक्तिको वैदिक विधिपूर्वक निःशुल्क ब्रतबन्ध गरिने भएकोले उक्त कार्यक्रमका सहभागी भई लाभ लिन आग्रह गरिएको छ ।
केदारेश्वरले विगत वर्षदेखि उक्त कार्यक्रम गर्दैआएको पीठाधीश डा लेखनाथ आचार्यले बताए । शिवरात्रिमा बिहान ३ बजेदेखि नै मन्दिर खुला गरी भक्तजनबाट शिवलिङ्गमा जल, दूध तथा बेलपत्र अर्पण गर्नुका साथै शिव प्रवचन, दिउँसो १२ बजे विशेष शिवपूजा गर्दै बेलुका चारै प्रहर पूजन गरिने कार्यक्रम छ ।
त्यसैगरी, नारी भक्तजनबाट बेलुका ६ बजेदेखि नै मन्दिर परिसरमा जाग्राम बसी बत्ती बाल्ने र भोलिपल्ट बिहान ५ बजे दीप बिसर्जन गरिने कार्यक्रम रहेको छ । भगवान् शिवको आराधनाबाट मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । कार्यक्रमले केदारेश्वरको गरिमा अझै बढ्दै जाने र आगामी दिनमा पर्यटकीय नगरी पोखरामा धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्व हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खरालले बताए ।

पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यक्रमको सफलताको कामना गर्दै पत्रकारले सक्दो प्रचारमा सहयोग गर्ने बताए ।
केदारेश्वर वैदिक गुरुकुल विद्याश्रममा ३२ जना बटुकको शिक्षादीक्षा, आवास लगायतमा समेत संस्थाले निःशुल्क सेवा दिँदैआएको मन्दिरका सचिव खिमबहादुर पहारीले बताए ।