आजदेखि पोखरामा नेपाल जुत्ता चप्पल ब्यापार मेला आयोजना हुदै


पोखरा – स्वदेशी जुत्ताको प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाली जुत्ता घर प्रालिले पोखरामा ‘फुटवेयर एक्स्पो २०१८’ नेपाल जुत्ता चप्पल ब्यापार मेला) आयोजना गर्ने भएको छ । प्रालिले पोखरामा गर्न लागेको यो जुत्ता मेला दोस्रो सँस्करणको हो । माघ २६ गते शुक्रबारदेखि पोखरा सभागृहमा शुरु हुने जुत्ता मेलाको उद्घाटन प्रतिनीधिसभा सदस्य रविन्द्र अधिकारीले गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबारदेखि शुरु हुने मेलामा रहने स्टलहरुमा नेपाली उत्पादनका जुत्ताहरु मात्रै रहने आयोजक नेपाली जुत्ता घर प्रालिले जनाएको छ । ‘हामीले नितान्त नेपाली उत्पादनलाई उपभोक्तामाझ परिचित गराउँदै त्यसको बानी बसाल्न यो मेलाको अवधारणालाई अगाडि ल्याएका हौँ ।’ नेपाली जुत्ता घर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले भने–‘वैदेशिक आयातलाई विस्थापन गरि जुत्तामा नेपाललाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।’

पोखरामा हुने जुत्ता मेलामा नेपालमा जुत्ता उत्पादन गर्दै आएका ९ वटा कम्पनीहरु एकै ठाऊँबाट आफ्नो उत्पादन बेच्नेछन् । मेलामा बिएफ डियर हिल, शिखर शुज, रोयल शुज, क्रसरोड शुज, रन शुज, फुटल्याण्ड शुज, कदम शुज र हाइलाइफका जुत्ताहरु मेलामा विक्रिका लागि राखिने आयोजक कम्पनीले जनाएको छ ।

पोखरामा यस अगाडि भएको जुत्ता मेलालाई उपभोक्ताहरुले अत्याधिक रुचाएका थिए । पोखराका उपभोक्ताहरुको माग अनुसार नै दोस्रोपटक यहाँ यो मेलाको आयोजना गर्न आफूहरु प्रेरित भएको अध्यक्ष उपाध्यायले बताए ।

नेपालमा हाल साना र ठुला गरि २ हजारभन्दा बढि जुत्ता उत्पादक कम्पनीहरु रहेका छन् । नेपाली बजारको करिब ५५ प्रतिशत हिस्सा नेपाली उत्पादनले नै धान्ने गरेको छ । नेपालमा वार्षिक ३५ करोडको जुत्ता कारोबार हुँदै आएको छ । १५ अर्ब भन्दा बढिको प्रत्यक्ष लगानी रहेको जुत्ता उद्योगहरुले वार्षिक ३ करोड ७५ लाख जोर जुत्ताचप्पलहरु उत्पादन गर्छन् । त्यसो त नेपाली बजारमा वार्षिक ७ करोड जोर जुत्ताको माग रहेको उत्पादक कम्पनीहरुको तथ्याङ्क छ ।

नेपाली जुत्ता घर प्रालिले स्थापनाकालदेखि नै स्वदेशी उत्पादनका जुत्ताहरुको व्यापार गर्दै आएको छ । कुल १० वटा जुत्ता कम्पनीहरु एकै ठाऊँमा भएर स्थापना भएको यो कम्पनीले काठमाण्डौ, पोखरा, बुटवल र विराटनगरमा जुत्ता मेला गर्दै आएको छ । हालसम्म काठमाण्डौमा यो कम्पनीले ५ वटा जुत्ता मेला गरिसकेको छ भने बुटवलमा दुईपटक मेला सम्पन्न गरिसकेको छ । त्यस्तै केहि समय अगाडि मात्रै कम्पनीले विराटनगरमा जुत्ता मेला सम्पन्न गरिसकेको छ । कम्पनीको काठमाण्डौमा ५ वटा र पोखरामा १ वटा शो रुम पनि संचालनमा आईसकेको छ ।