फेवातालमा ढल मिसाउनेलाई कारबाही गर्न समिति गठन


पोखरा – फेवातालमा ढल मिसाउने क्रम बढेपछि उनीहरुलाई कारबाही गर्न एक समिति नै गठन भएको छ । लेकसाइडमा भएको एक भेलाले पोखरा लेखनाथ महानगरपालिका ६ का वडा सदस्य हरि पहारीको संयोजकत्वमा अनुगमन तथा कारबाही समिति गठन गरेको हो ।

संयोजक पहारीले फेवातालमा ढल मिसाउनेको अनुगमन गरेर कारबाही गर्ने बताए । ‘अनुगमन तिब्र बनाइन्छ, ढल मिसाएको पाइए ठाउँको ठाउँ कारबाही हुन्छ’ उनले भने । फेवातालमा फोहोर फालेमा वा दूषित पानी मिसाउनेलाई पनि कारबाही हुने उनले बताए ।

सामुदायिक प्रहरी एवम् सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराईले फेवातालमा फोहोर मिसाउनेलाई महानगरपालिकाबाट प्राप्त हुने सेवा सुविधा कटौती गर्नुपर्ने बताए ।

टोल विकास समन्वय समिति बैदामका अध्यक्ष गिरिराज अधिकारीले फेवाताल बचाउने अभियानमा सवै लाग्नु पर्ने समय आएको बताए ।

अनुगमन तथा कारबाही समितिमा पर्यटन व्यवसायी भीमसेन भुजेल, बलराम गिरी, सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम, टोल विकास संस्था बैदामका अध्यक्ष गिरिराज अधिकारी, वडा नागरिक मञ्च बैदामका अध्यक्ष बिष्णुहरि अधिकारी, बैदामको महिला समन्वय समितिका अध्यक्ष बिष्णु केसी र विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधिहरु सदस्य रहेका छन् ।