नेपालको लागि चिनिया राजदूत यु होङ पोखरामा


पोखरा – नेपालको लागि चिनिया राजदूत यु होङ बिहीबार पोखरा आएकी छन् । नेपाल चीन जनमैत्री संघको आयोजनामा शुक्रबार पोखरामा हुने साँस्कृतिक कार्यक्रममा भाग लिन उनी पोखरा आएकी हुन् । राजदूत होङलाई पोखरा विमानस्थलमा पोखरा लेखनाथ महानगरपाकिाकी उपमेयर मञ्जुदेवी गुरुङले स्वागत गरिन् । स्वागतपछि कुराकानी गदै राजदुत यूले पोखरा पर्यटकीय रुपमा सुन्दर रहेको बताइन् । स्वागतपछि चिनिया राजदुत यु सिधै बेगनास तालको अवलोकनका लागी पुग्नु भएको थियो ।

उहाँले त्यहाँ करिव आधा घण्टा अवलोक गदै तस्वीर समेत खिच्नु भएको थियो । बेगनाससंगै देखिएको हिमालको दृश्यले उहाँले रोमाञ्चक बन्नुभएको थियो । उहाँले पोखरा लेखनाथ महानगपालिकाका उपप्रमुखसंग यहाँ पर्यटनको बारेमा जानकारी दिनुभएको थियो । चिनिया नयाँ वर्षको उपलक्ष्यमा पोखरामा साँस्कृतिक कार्यक्रम हुन लागेको हो । शुक्रबार हुने ‘द स्प्रिङ फेस्टिभल २०१८’ मा सिचुवान प्रान्तको साँस्कृतिक समूहले आफ्नो प्रस्तुति दिने नेपाल चीन जनमैत्री संघ पोखराले जनाएको छ ।

पछिल्लो समय पोखरामा चिनिया गतिविधी ह्वात्तै बढेको छ । केही समय अगाडि यहाँको पोखरा उद्योग वाणिज्य संघको हलमा चिनिया फोटाहरु समेत प्रदर्शन गरिएको थियो । चीनको सम्वृद्धि, सँस्कृति र विविधता झल्कने ५८ वटा तस्वीरहरु प्रदर्शनमा राखिएका थिए । चीनको एक्जिम बैंकको ऋण सहयोगमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढिरहेको छ । यहाँको छोरेपाटन, हेम्जा तथा तनहुँमा रहेको तिब्बती सरणार्थी शिविरका कारण पोखरा चिनिया आँखामा सामरिक महत्व बोकेको ठाउँ हो ।