दिपक मनाङ्गे र रामबहादुर गुरुङ सपथमा सहभागी भएनन्


पोखरा –  प्रदेश नम्बर ४ का प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनियताको सपथ लिइरहँदा दुई सदस्य भने आएनन् । मनाङबाट निर्वाचित सांसद राजिव गुरुङ (दिपक मनाङ्गे) र तनहुँबाट निर्वाचित सांसद रामबहादुर गुरुङ सपथमा सहभागी भएनन् ।

रामबहादुर गुरुङ देशबाहिर रहेका कारण सपथमा सहभागी नभएको बताइएको छ । तर धेरैको चासो र नजरमा परेका मनाङबाट निर्वाचित सांसद राजिव गुरुङ अर्थात ‘दिपक मनाङ्गे’ सपथ समारोहमा देखिएनन् ।

ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई पाँच वर्षको जेल सजायँ गर्ने पुनरावेदन अदालतकको फैसलाले उनी अफ्ठ्यारोमा परेका थिए । मनाङ ‘ख’ बाट विजयी भएका मनाङ्गे एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । यद्यपी, सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएपनि उनको पद भने कायमै छ ।

समारोहमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेश प्रमुख बाबुराम कुँवरबाट सपथ लिएपछि प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए । श्रेष्ठले प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुखबाट सपथ लिएका हुन् ।

आफूले सपथ लिएलगत्तै उनले प्रदेश नम्बर ४ का ५७ जना प्रदेशसभा सदस्यहरुलाई पोखराको नदीपुरस्थित प्रदेश सभाहलमा सपथ गराएका हुन् ।